Logo

मुख्य समाचार

एमसीसी पास गर्न २८ मंसिरमा संसद बैठक



काठमाडौं, १७ मंसिर । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आव्हान गरेको खुलेको छ । उक्त दिनभित्र एमसीसीबारे टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ ।

अमेरिकी विदेश सहायक विदेशमन्त्री डोनाल्ड लू नोभेम्बरमा नेपाल आएर एमसीसीबारे निर्णय दिने समयसीमा दिएर गएका थिए । अमेरिकाले कूटनीतिक माध्यमले समयसीमा दिएपछि २८ मंसिरमा एमसीसीबारे टुंगो लाग्नसक्ने बुझिएको छ ।

यसैगरी, २८ मंसिरकै दिन एमसीसी निर्देशक समितिको बैठक तय भएको छ । उक्त बैठकमा नेपालको एमसीसीको विषय पनि एजेन्डामा राखिएको छ । नेपालको सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी संशोधनको विषय उठाउँदै आएका छन् ।

एमसीसी संसदमा अगाडि बढ्ने भएपछि सत्ता गठबन्धनका दलहरुले के गर्ने हुन् चासो बनेको छ । एमसीसीबारे नेपाली काँग्रेस जस्ताको तस्तै पारित गर्ने पक्षमा छन् ।

माओवादी र एस संशोधनविना पारित गर्न नहुने पक्षमा छन् । एमसीसीबारे गठबन्धनभित्र सहमति नबनेमा नयाँ घटनाक्रम विकास हुनसक्छ ।

एमसीसीबारे गठबन्धनको धारणा आएपछि मात्र आफूहरुले बोल्ने नेकपा एमालेका अध्यक्ष केपी शर्माले स्पष्ट पारिसकेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४९ बजे