Logo

समाचार

द्विविधाको चक्रमा फसेको काँग्रेस



नेपाली काँग्रेस अहिले केवल कमजोर राजनीतिक अवस्थामा छैन, आफ्नै अस्तित्व र संस्थागत भविष्यबारे प्रश्न उठ्ने अवस्थामा देखिएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको मियोका रूपमा स्थापित काँग्रेस आज बाहिरी प्रतिस्पर्धाभन्दा बढी आन्तरिक द्वन्द्वको भारले थिचिएको छ । निर्वाचनपछिको राजनीतिक प्रभावमा आएको कमी एउटा चुनौती हो, तर त्यसलाई पनि उछिनेर अगाडि आएको गम्भिर समस्या पार्टीभित्रको नेतृत्व, वैधानिकता र संगठनमाथिको नियन्त्रणको विवाद हो ।
गत पुसमा भएको विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेसँगै काँग्रेसको विवाद निर्णायक चरणमा प्रवेश गरेको ग¥यो । निर्वाचन आयोगले गगन नेतृत्वको कार्यसमितिको अभिलेख अद्यावधिक गरेपछि शेरबहादुर देउवा पक्ष अझै आक्रमक देखियो । उक्त समूह अदालत पुग्यो । सर्वोच्च अदालतले वैशाखमा आयोगको निर्णय नै सदर गरिदिएपछि पार्टी भित्रको संकट अझै गहिरियो ।
तर त्यस फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा सर्वोच्चले फेरि निस्सा दियो । तर अन्तरिम आदेश भने दिएन । जसले गर्दा काँग्रेस भित्रको विवाद कानुनी रूपमा अझै टुंगिएको छैन । अदालतले पुनरावलोकनको ढोका खोलेको हो, कुनै पक्षलाई अन्तिम विजेता घोषणा गरेको होइन । यही तथ्यलाई राजनीतिक बहसले अक्सर ओझेलमा पारिरहेको छ ।
यहीँबाट काँग्रेसको संकटको वास्तविक गहिराइ देखिन्छ । एउटा पक्ष आफ्नो नेतृत्वलाई वैधानिक र राजनीतिक रूपमा स्थापित गरिसकेको ठान्दै महाधिवेशनको प्रक्रियामा अघि बढिरहेको छ । अर्को पक्ष विशेष महाधिवेशनको प्रक्रियामाथि नै प्रश्न उठाउँदै अदालतमा आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । सर्वोच्चले महाधिवेशन रोक्न माग गरिएको अन्तरिम आदेश नदिए पनि पुनरावलोकनको मूल विवाद जीवितै छ । त्यसैले अहिलेको काँग्रेसलाई ‘एक पक्ष आधिकारिक, अर्को पक्ष अनधिकृत’ भनेर सरल ढंगले बुझ्नु तथ्यगत रूपमा अधुरो हुन्छ ।
कानूनी विवादभन्दा पनि गम्भीर प्रश्न राजनीतिक हो । काँग्रेस आखिर कुन दिशातर्फ जाँदैछ ? पार्टीभित्रको बहस अहिले विचार, नीति र कार्यक्रमभन्दा नेतृत्वको वैधता र शक्ति–सन्तुलनमा बढी केन्द्रित भएको देखिन्छ । यो काँग्रेसका लागि खतराको संकेत हो । किनभने राजनीतिक दलमा नेतृत्व महत्वपूर्ण हुन्छ, तर नेतृत्वभन्दा संस्था ठूलो हुन्छ । व्यक्ति बदलिन्छन्, गुट बदलिन्छन्, समीकरण बदलिन्छन्, तर पार्टीको संस्थागत चरित्र कमजोर भयो भने त्यसको पुनर्निर्माण निकै कठिन हुन्छ ।
पुस्तान्तरणको बहस पनि यसै सन्दर्भमा हेर्नुपर्छ । नयाँ पुस्ताले नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्नु स्वाभाविक हो । पुरानो पुस्ताले आफ्नो अनुभव, योगदान र राजनीतिक निरन्तरताको प्रश्न उठाउनु पनि अस्वाभाविक होइन । काँग्रेसलाई अहिले पुस्ताबीचको युद्ध होइन, पुस्ताबीचको हस्तान्तरण चाहिएको छ ।
शेरबहादुर देउवा काँग्रेसको इतिहासका महत्वपूर्ण पात्र हुन् । त्यसैले उनको नामलाई वर्तमान शक्ति–संघर्षको एउटा औजारमा सीमित गर्नु स्वयं काँग्रेसका लागि गम्भीर भूल हुन सक्छ । देउवाको राजनीतिक विरासतको सम्मान र उनको नाममा चल्ने गुटगत गतिविधिबीच फरक छुट्याउन आवश्यक छ । ‘देउवाका नाममा’ राजनीति गर्ने सबैको राजनीतिक उद्देश्य स्वयं देउवाकै उद्देश्य हो भन्ने निष्कर्ष पनि तथ्यबाट स्वतः प्रमाणित हुँदैन । बरु अहिलेको परिस्थितिले एउटा असहज प्रश्न जन्माएको छ, त्यो के भने—के देउवाको राजनीतिक उचाइलाई जोगाउने नाममा उनको नाम वरिपरि नयाँ शक्ति–केन्द्रहरू निर्माण भइरहेका छन् त ? यसको उत्तर आरोपबाट होइन, व्यवहार र घटनाक्रमबाट खोजिनुपर्छ ।
अर्कोतर्फ गगन थापाको नेतृत्व पनि केवल पुस्तान्तरणको भावनात्मक नाराबाट दीर्घकालीन रूपमा स्थापित हुने होइन । नयाँ नेतृत्वको वास्तविक परीक्षा अब सुरु भएको छ । उसले पार्टीलाई आफ्नो पक्षको संगठनमा रूपान्तरण गर्छ कि सम्पूर्ण काँग्रेसको संस्थामा बदल्छ भन्ने प्रश्न महत्वपूर्ण छ । परिवर्तनको दाबी गर्ने नेतृत्वले पनि आन्तरिक लोकतन्त्र, पारदर्शिता, असहमतिको सम्मान र संगठनात्मक समावेशिताको परीक्षा उत्तीर्ण गर्नुपर्छ ।
यसबीच सबैभन्दा ठूलो मूल्य भने कार्यकर्ताले चुकाइरहेका छन् । रुख र चारतारासँग भावनात्मक सम्बन्ध राख्ने सामान्य काँग्रेसीका लागि अहिले प्रश्न देउवा कि गगन भन्ने मात्र होइन । प्रश्न हो—काँग्रेस कसको हो ? एउटा व्यक्ति, एउटा समूह वा एउटा पुस्ताको ? कि दशकौँदेखि यसको विचार, झण्डा र चुनाव चिह्न बोकेर हिँडेको सम्पूर्ण संगठनको ?
यही प्रश्नको स्पष्ट उत्तर नआउँदा कार्यकर्तामा अन्योल बढ्छ । सक्रिय कार्यकर्ता गुट छान्न बाध्य हुन्छन्, तटस्थ रहन चाहनेहरू निष्क्रिय हुन्छन् र अवसर खोज्नेहरू भने दुवै पक्षको कमजोरीमा आफ्नो राजनीतिक स्थान बलियो बनाउन थाल्छन् । काँग्रेस अहिले त्यही जोखिमको नजिक देखिन्छ ।
काँग्रेसको संकटमा एउटा विडम्बना स्पष्ट देखिन्छ—जसले काँग्रेस बचाउने दाबी गरिरहेका छन्, उनीहरूकै शक्ति–संघर्षले काँग्रेसलाई कमजोर बनाइरहेको छ । यो आरोप होइन, अहिले देखिएको राजनीतिक यथार्थबाट उठेको प्रश्न हो ।

अब काँग्रेसले रोज्नुपर्ने बाटो केवल दुईवटा महाधिवेशनको बाटो होइन । उसले दुईवटा मनोविज्ञानमध्ये एउटा रोज्नुपर्नेछ—‘मेरो नेतृत्व’ कि ‘हाम्रो काँग्रेस’। पहिलो रोजाइले गुटलाई बलियो बनाउन सक्छ; दोस्रो रोजाइले संस्थालाई ।
अन्ततः काँग्रेसको भविष्य कुनै एक नेताको राजनीतिक आयुसँग जोडिनु हुँदैन । देउवा रहुन् वा नरहुन्, गगन रहुन् वा अर्को पुस्ता आओस्,काँग्रेस रहनुपर्छ । किनकि काँग्रेसको संकट केवल एउटा पार्टीको संकट होइन; यसको संस्थागत कमजोरीले नेपालको लोकतान्त्रिक राजनीतिको एउटा महत्वपूर्ण आधारलाई नै कमजोर बनाउन सक्छ । त्यो यर्थाथलाई अहिले गगन वा देउवा दुबै पक्षले मिहिन ढंगले सोचेको जस्तो देखिएन । मुख हैन रुख भन्ने दुबो काँग्रेसीहरु अहिले जस्तो दोसाँधमा विगतमा कहिल्यै बस्नु परेन । गगनको महाधिवेशन र देउवाको महाधिवेशन कता लाग्ने भन्ने अन्योल यस्ता काँग्रेसमा पार्ने काम दुबै पक्षले गरेका छन् । त्यसको मूल्य आगामी निर्वाचनमा फेरि दुबै थरि काँग्रेसले चुकाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : ४७ बजे