Logo

मुख्य समाचार

आजबाट भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु



काठमाडौं । भक्तपुरको प्रसिद्व बिस्का (बिस्केट) जात्रा सुरु भएको छ ।

स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ । भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ ।

जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा सुरु भएको छ । भक्तपुर नगरको मध्य भागमा रहेको मानिने पाँचतल्ले मन्दिरको माथिल्लो टोल र तल्लो टोल गरी दुवैतिर डोरीको माध्यमले रथलाई तानतान गरिन्छ ।

करिब ३५ फिट अग्लो तीनतल्ले प्यागोडा शैलीमा काठैकाठबाट निर्माण गरिएको रथलाई सयौं युवाले तान्ने प्रचलन छ ।

विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको छ ।

जात्राको ऐतिहासिक पक्षका सवालमा भने थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ५० बजे