काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउन १६.९१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले पुँजी वृद्धि गर्ने उद्देश्यले हकप्रद सेयर निष्कासनको प्रस्ताव आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । शुक्रबार मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउन सरकारले एक अर्ब रुपैयाँ थप गर्ने र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएपछि कम्पनीले प्रक्रिया अघि बढाएको हो ।
कम्पनीमा नेपाल सरकारको हाल ४४.०३९ प्रतिशत सेयर स्वामित्व रहेको छ । सरकारको उक्त स्वामित्व कायम राख्दै अन्य सेयरधनीका लागि हकप्रद सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।
नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि कम्पनीले सोही व्यवस्थाअनुसार पुँजी वृद्धि गर्न लागेको हो ।
प्रस्ताव साधारणसभाबाट पारित भएमा हाल १०० कित्ता सेयर भएका लगानीकर्ताले थप १७ कित्तासम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।








प्रतिक्रिया