Logo

मुख्य समाचार

बालेनको भारत भ्रमण : सम्बन्धमा नयाँ आयाम, समृद्धिको नवीन सम्भावना




नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षासहित प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । काठमाडौं अवतरण गर्दै गर्दा बालेनले आफ्नो साथमा कूटनीतिक सम्मान मात्र लिएर फर्कंदै छैनन्, नेपाल–भारत सम्बन्धको परम्परागत भाष्य बदल्न सकिने सम्भावनाको सन्देश पनि लिएर फर्किएका छन् ।
उनको यो भ्रमणको सफलता तत्काल भएका समझदारी र सम्झौतामा मात्र सीमित छैन । यसले दुई देशबीचको सम्बन्धलाई कसरी हेर्ने, कसरी अघि बढाउने र त्यसलाई नेपालको आर्थिक समृद्धिसँग कसरी जोड्ने भन्ने विषयमा नयाँ बहसको ढोका खोलेको छ ।
नेपालका प्रधानमन्त्रीको भारत भ्रमण विगतमा पनि हुँदै आएका हुन् । हरेक भ्रमणमा उच्चस्तरीय भेटघाट, संयुक्त वक्तव्य, केही परियोजनामा सहमति र आपसी सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त हुने गरेका थिए ।
तर तीमध्ये कतिपय प्रतिबद्धता कार्यान्वयनको चरणमा पुग्न नसक्दा भ्रमणको उपलब्धि औपचारिकतामै सीमित हुने गरेको तीतो अनुभव नेपालसँग छ ।
यसपटकको भ्रमणलाई फरक बनाउने पक्ष भनेको यसको छरितो स्वरूप, प्रधानमन्त्रीको प्रस्तुतिमा देखिएको आत्मविश्वास, कूटनीतिक सन्तुलन र आर्थिक विकासलाई केन्द्रमा राखेर गरिएको संवाद पनि हो भन्न सकिन्छ ।
भारतीय पक्षले बालेनलाई दिएको राजकीय सम्मानलाई केवल एक प्रधानमन्त्रीप्रतिको सम्मानका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यो नेपालको सार्वभौमसत्ता, नेपाली जनताको स्वाभिमान र दुई देशबीचको ऐतिहासिक सम्बन्धप्रतिको सम्मानका रूपमा पनि ग्रहण गरिएको छ ।
परम्परागत राजनीतिक नेतृत्वप्रति निराश र नयाँ नेतृत्वबाट परिवर्तनको अपेक्षा गरिरहेको जनमतले यस भ्रमणलाई चासोपूर्वक हेरेको छ । भ्रमणका विषयमा आलोचनात्मक दृष्टिकोण राख्नेहरूले समेत बालेनको प्रस्तुति र भारतीय आतिथ्यको प्रशंसा गर्नुले यसको राजनीतिक महत्व थप स्पष्ट पारेको छ ।
अझ महत्वपूर्ण कुरा, प्रधानमन्त्री बालेनले आफ्नो भ्रमणलाई व्यक्तिगत लोकप्रियताको प्रदर्शनमा सीमित राखेनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाली भाषामै आफ्नो धारणा राखे ।
मोदीले हिन्दीमा सम्बोधन गर्दा बालेनले नेपाली भाषालाई प्राथमिकता दिनु सामान्य भाषिक छनोट मात्र थिएन । त्यो नेपालको राष्ट्रिय पहिचान र आत्मसम्मानको अभिव्यक्ति पनि थियो ।
उनले नेपाल र भारतबीचका सांस्कृतिक, धार्मिक, पारिवारिक तथा जनस्तरका सम्बन्धलाई मर्यादित र सन्तुलित भाषामा प्रस्तुत गरे । दुई देशबीच निकटता छ भन्दैमा नेपालको स्वतन्त्र पहिचान कमजोर हुनुपर्ने होइन भन्ने सन्देश उनको प्रस्तुतिमा अन्तर्निहित थियो ।
निकटता मात्र होइन, परस्पर सम्मान
मोदीसँगको वार्तामा बालेनले नेपालको विकास साझेदारीलाई प्राथमिकतामा राख्नु अर्थपूर्ण छ । नेपालले भारतसँग सहयोग माग्ने मात्र होइन, दुवै देशको हित हुने गरी लगानी, व्यापार, पूर्वाधार र उत्पादनमा साझेदारी गर्न चाहेको सन्देश दिन खोजेका छन् ।
मोदीले पनि नेपालसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने संकेत दिएका छन् । यसले नेपालको नयाँ राजनीतिक नेतृत्वप्रति भारत सकारात्मक रहेको बुझ्न सकिन्छ ।
तथापि, भारतको सद्भावलाई नेपालको कूटनीतिक सफलता मान्न सकिए पनि त्यसलाई दीर्घकालीन उपलब्धिमा बदल्न नेपालले आफ्नो राष्ट्रिय हितमा आधारित स्पष्ट नीति र निरन्तर संवाद कायम गर्नुपर्छ ।
यस भ्रमणमा भएका परियोजना हस्तान्तरण, उद्घाटन र शिलान्यासले पनि सम्बन्धलाई व्यवहारमा जोड्ने आधार तयार गरेका छन् ।
अयोध्या–जनकपुर रेलसेवा सञ्चालन यसमध्ये विशेष रहेको छ । जनकपुर र अयोध्या दुवै धार्मिक तथा सांस्कृतिक दृष्टिले अति महत्वपूर्ण स्थल हुन् ।
रामायणकालीन सांस्कृतिक सम्बन्धलाई आधुनिक यातायातसँग जोड्दा धार्मिक पर्यटन विस्तार हुने मात्र होइन, दुई देशका नागरिकबीचको सम्पर्क पनि थप सहज हुनेछ ।
जनकपुरको पर्यटन, होटल, यातायात, स्थानीय व्यापार र सेवा क्षेत्रले यसबाट लाभ लिन सक्छन् । तर रेलसेवा नियमित, सहज र व्यावसायिक रूपमा सञ्चालन गर्न सकिएन भने यसको सम्भावना उद्घाटन समारोहको उत्साहमै सीमित हुन सक्छ ।
त्यस्तै, नेपालको दुई बन्दरगाहसम्म पहुँच विस्तार गर्ने समझदारीले नेपालको पारवहन विकल्पलाई फराकिलो बनाउने सम्भावना छ । काण्डला र पारादीप बन्दरगाहको उपयोगबाट तेस्रो मुलुकसँगको व्यापारमा वैकल्पिक मार्ग उपलब्ध हुन सक्छ ।
नेपाल भूपरिवेष्ठित मुलुक भएकाले समुद्री बन्दरगाहसम्मको पहुँच आर्थिक जीवनरेखा सरह हो ।
अहिलेको अवस्थामा एउटा मात्र पारवहन मार्गमा अत्यधिक निर्भर रहनु व्यापारिक दृष्टिले जोखिमपूर्ण छ ।
नयाँ बन्दरगाहको पहुँचले ढुवानी लागत, समय र आपूर्ति व्यवस्थापनमा प्रतिस्पर्धात्मक विकल्प सिर्जना गर्न सक्छ । तर यसको वास्तविक लाभका लागि रेल तथा सडक सम्पर्क, भन्सार प्रक्रिया, ढुवानी शुल्क र पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ ।
आर्थिक विकासमा नयाँ सम्भावना
यस भ्रमणको सबैभन्दा ठूलो आर्थिक उपलब्धि भारतले नेपाललाई घोषणा गरेको २४० अर्ब नेपाली रुपियाँ बराबरको आर्थिक सहयोग प्याकेज हो । भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र दीर्घकालीन विकासलाई लक्षित यस सहयोगले नेपालको पुनःस्थापना र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ ।
तर यति रकम घोषणा हुँदैमा नेपालको आर्थिक समस्या समाधान हुने होइन । सहयोगको स्वरूप, अनुदान र सहुलियतपूर्ण ऋणको अनुपात, खर्च गर्ने क्षेत्र तथा कार्यान्वयनको समयसीमा स्पष्ट हुनुपर्छ ।
कुन परियोजनामा कति रकम खर्च गर्ने, त्यसको प्रतिफल के हुने र निर्माणको जिम्मेवारी कसले लिने भन्ने विषय पारदर्शी हुनुपर्छ । सहयोगलाई उपभोगमुखी खर्च वा राजनीतिक प्रचारको साधन बनाउनेभन्दा उत्पादन र रोजगारी सिर्जना गर्ने पूर्वाधारमा केन्द्रित गर्न सक्नुपर्छ ।
नेपालको आर्थिक विकासको अर्को प्रमुख आधार ऊर्जा हो । तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास यस दृष्टिले उल्लेख्य मान्नुपर्छ । जलविद्युत् उत्पादन बढाएर भारत र अन्य क्षेत्रीय बजारमा विद्युत् निर्यात गर्न सक्दा नेपालले विदेशी मुद्रा आर्जन, व्यापार घाटा न्यूनीकरण र रोजगारी सिर्जनामा उल्लेखनीय प्रगति गर्न सक्छ ।
नेपालले आगामी वर्षहरूमा ठूलो परिमाणमा स्वच्छ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा भारतीय बजारसम्मको पहुँच निर्णायक छ । तर जलविद्युत् आयोजना निर्माणमा लगानी, प्रसारण लाइन, वातावरणीय प्रभाव, स्थानीय समुदायको सहभागिता र विद्युत् खरिदको सुनिश्चितता पनि उत्तिकै ध्यान दिनुपर्ने पक्ष हुन् ।
विद्युत् निर्यातसँगै स्वदेशमै उद्योग सञ्चालन, विद्युतीय यातायात विस्तार र कृषि उत्पादनको प्रशोधनमा ऊर्जा उपयोग बढाउन सके मात्र यसको बहुआयामिक लाभ प्राप्त हुनेछ ।
यसैगरी, नेपालमा भारतीय प्रविधि तथा शैक्षिक सहयोगमा आइआइटी क्याम्पस स्थापना गर्ने प्रस्ताव पनि दूरगामी महत्वको छ ।
नेपालका युवालाई उच्चस्तरीय प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनको अवसर स्वदेशमै उपलब्ध गराउन सकिए दक्ष जनशक्ति पलायन रोक्र्न बल पुग्ने छ ।
कृषि, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, ऊर्जा र औद्योगिक उत्पादनमा दक्ष जनशक्ति तयार गर्न यस्तो संस्थाले भूमिका खेल्न सक्छ ।
आयुर्वेद र परम्परागत चिकित्सापद्धतिमा सहकार्य गर्ने समझदारीले पनि नेपालका जडीबुटी, औषधिजन्य वनस्पति र परम्परागत ज्ञानलाई अनुसन्धान तथा व्यावसायिक उत्पादनसँग जोड्ने अवसर प्रदान गर्न सक्छ ।
प्रधानमन्त्रीले किसानको खेतमा समृद्धि र युवाको हातमा रोजगारी पुग्ने विश्वास व्यक्त गर्नुको अर्थ पनि यही हो ।
अब नेपालले कृषि उत्पादन बढाउने, भारतीय बजारमा पहुँच विस्तार गर्ने, गुणस्तरीय उत्पादनको मापदण्ड पूरा गर्ने र युवालाई उद्यमशीलतामा जोड्ने नीति लिनुपर्छ । सहमति कागजमा रहिरहने र नेपाली उत्पादनले बजार नपाउने अवस्था दोहोरियो भने भ्रमणको आर्थिक उपलब्धि अधुरै रहनेछ ।
बालेन सरकारप्रतिको जनअपेक्षा र राजनीतिक प्रभाव
बालेनको भारत भ्रमणको अर्को गज्जबको पक्ष यसको आन्तरिक राजनीतिक प्रभाव हो । नेपालमा नयाँ नेतृत्वप्रति जनताको ठूलो अपेक्षा छ ।
पुराना राजनीतिक दल र नेतृत्वप्रति असन्तुष्टि बढिरहेको अवस्थामा बालेनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । त्यसैले उनको प्रत्येक राजनीतिक र कूटनीतिक गतिविधिलाई जनताले परिणामको कसीमा मूल्यांकन गरिरहेका छन् ।
भारत भ्रमणमा उनले प्राप्त गरेको सम्मान, उच्चस्तरीय भेटघाट र विकास साझेदारीका विषयमा भएका सहमतिले उनको नेतृत्वप्रतिको विश्वास बढाउन सक्छ ।
विशेषगरी भारतसँगको सम्बन्धलाई लिएर विगतमा विभिन्न राजनीतिक दलले उठाउँदै आएका आशंका र आलोचनाबीच बालेनले सन्तुलित कूटनीतिक व्यवहार प्रस्तुत गर्नु सकारात्मक पक्ष हो ।
उनको विरोधमा रहेका राजनीतिक शक्तिहरूले समेत भ्रमणको प्रशंसा गर्नुपर्ने अवस्था सिर्जना हुनु उनको राजनीतिक उपलब्धि हो ।
तर यसलाई बालेनको निर्विवाद राजनीतिक विजयका रूपमा बुझ्नु हतार हुनेछ । प्रधानमन्त्रीका रूपमा उनले अब कूटनीतिक सफलतालाई आन्तरिक सुशासन, आर्थिक सुधार र जनताको जीवनस्तरमा परिवर्तनसँग जोड्नुपर्नेछ ।
जनताले भारतमा पाएको सम्मानभन्दा नेपालभित्र पाउने सुविधा र अवसरलाई बढी ध्यान दिन्छन् ।
यस भ्रमणको एउटा कमजोर पक्ष पनि बिर्सन मिल्दैन । नेपालको राष्ट्रिय हितसँग जोडिएका सीमा विवाद, कालापानी, लिपुलेक र लिम्पियाधुरा, व्यापार असन्तुलन तथा थप हवाई प्रवेशमार्गका विषयमा ठोस उपलब्धि हासिल भए नभएको मूल्यांकन आवश्यक छ ।
यी विषयमा तत्काल समाधान निस्कन कठिन भए पनि नेपालको अडान र प्राथमिकता निरन्तर रूपमा उठाइरहनुपर्छ ।
कूटनीतिक सम्बन्धमा सद्भाव आवश्यक हुन्छ, तर सद्भावका नाममा राष्ट्रिय स्वार्थका विषय ओझेलमा पर्नु हुँदैन ।
परम्परागत भ्रमणभन्दा फरक पक्ष
विगतका प्रधानमन्त्रीका भारत भ्रमणसँग तुलना गर्दा बालेनको भ्रमण केही अर्थमा फरक देखिएको छ ।
पहिलो, उनले ठूलो र भड्किलो प्रतिनिधिमण्डलभन्दा छरितो टोलीलाई प्राथमिकता दिए । दोस्रो, भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी आर्थिक साझेदारी, पारवहन, ऊर्जा, शिक्षा र प्रविधिमा केन्द्रित गरे ।
यस्तै आफ्नो राष्ट्रिय पहिचान र स्वाभिमानलाई कायम राख्दै छिमेकीसँग सहकार्य गर्ने सन्तुलित शैली प्रस्तुत गरे । अर्काे , परियोजना हस्तान्तरण, उद्घाटन र शिलान्यासमार्फत सहकार्यलाई प्रत्यक्ष परिणामसँग जोड्ने प्रयास गरे ।
भ्रमण फलदायी भयो कि भएन भन्ने अन्तिम फैसला परियोजनाको कार्यान्वयनले गर्नेछ । तल्लो अरुण कहिले सम्पन्न हुन्छ ? रेलसेवा कति प्रभावकारी हुन्छ ?
बन्दरगाहको पहुँचले नेपाली व्यवसायीलाई कति सहजता दिन्छ ? आर्थिक सहयोगले बाढीपीडितको जीवनमा कस्तो परिवर्तन ल्याउँछ ?
आइआइटीको शैक्षिक अवसरले नेपाली युवालाई कति लाभ पु¥याउँछ ? यिनै प्रश्नको उत्तरले भ्रमणको वास्तविक सफलता निर्धारण गर्नेछ ।
अन्ततः प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई नेपालको कू
टनीतिक सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने प्रयासका रूपमा लिन सकिन्छ ।
यसले भारतसँगको सम्बन्धमा विश्वासको वातावरण निर्माण गरेको छ र नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावना पनि खोलेको छ । तर अवसर प्राप्त गर्नु र त्यसको सदुपयोग गर्नु अलग पक्ष हुन् ।
भारतले सहयोगको हात बढाएको छ, अब नेपालले त्यसलाई समृद्धिको आधार बनाउन सक्नुपर्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, सोमबार  ९ : २० बजे