Logo

Breaking News 1

एमाले पार्टीको रूपमा पनि रहेन, सानो गुटमा सीमित हुन पुगेको छ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनतामा आफ्नो पार्टीको आकर्षण बढेको दाबी गरेका छन् । पार्टीले लिएको विचारका कारणले जनताको माझ पार्टीको आकर्षण बढेको उनले बताएका हुन् ।

राजधानीमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै नेपालले भने, ‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण बढेको छ । पार्टी प्रवेशको लहर चलेको छ ।’ विभिन्न प्रदेशमा पार्टी सशक्त रूपमा उदाएको बताउँदै धेरै ठाउँमा नेकपा एमालेलाई समेत पछि पारेको उनले जिकिर गरे ।

उनले एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको बताउँदै कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको पनि बताए । नेकपा एमाले दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि आफूहरू त्यहाँ बस्न नसकेको उनको भनाइ थियो ।

‘एमाले पार्टीको रूपमा पनि रहेन । सानो गुटमा सीमित हुन पुगेको छ । व्यक्तिको वर्चस्वमा चलिरहेको समूह हुन पुगेको छ,’ उनले भने । समाजवादको झण्डा बुलन्द गर्नका लागि अर्को पार्टी निर्माण गर्नैपर्ने बाध्यता आएको उनले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : २८ बजे