काठमाडौं । किलियन एमबाप्पेले दुई गोलसहित चम्किएपछि रियल म्याड्रिडले ला लिगामा आइतबार राति सेल्टा भिगोलाई ३–२ ले पराजित गरेको छ । यस जितले रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ, र अब ‘एल क्लासिको’लाई निर्णायक बनाएको छ ।
सान्तियागो बर्नाबेउमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेलको ३३औं मिनेटमा सर्ट कर्नरपछि प्राप्त बललाई युवा मिडफिल्डर अरडा गुलरले डिफ्लेक्सनमा गोल पोस्टको कुनामा पठाउँदै खाता खोले ।
त्यसको ६ मिनेटपछि, काउन्टर अट्याकको उत्कृष्ट समापनमा एमबाप्पेले गोलरक्षक गुआइतालाई छलाउँदै दोस्रो गोल थपे ।
दोस्रो हाफको सुरुवातमै एमबाप्पेले गुलरको थ्रु पासमा दौडिँदै बाँया खुट्टाबाट पोस्टको कुनामा गोल गर्दै आफ्नो व्यक्तिगत दोहोरो गोल पुरा गरे ।
तर पाहुना टोली सेल्टा भिगो पछाडि हटेन । खेल सकिन २० मिनेट बाँकी रहँदा जाभी रोड्रिग्वेजले गोल गर्दै अन्तर घटाए । ७६औं मिनेटमा स्वेडबर्गको गोलले खेललाई ३–२ मा ल्यायो । त्यसपछि पनि सेल्टाले बराबरीको प्रयास जारी राख्यो, तर गोलरक्षक कोट्र्वाले अन्तिम क्षणमा उत्कृष्ट बचाउ गर्दै रियलको अग्रता जोगाए ।
प्रतिक्रिया