Logo

कर्पोरेट

ट्रेड टावर लिमिटेडको आईपीओ बैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बैशाख ८ गतेदेखि खुला हुने



काठमाडौं । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक साधारण शेयर (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले २०८२ साल बैशाख ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने जानकारी दिएको छ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी कुल रू. ३ करोड ९७ लाख १६ हजार ९३० बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

ट्रेड टावर लिमिटेडले आफ्नो कुल जारी पूँजी रू. ८१ करोड ५६ लाख ९ हजार ७०० को ४८.६९६ प्रतिशतका दरले रू. ३९ करोड ७१ लाख ६९ हजार ३०० बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्न अनुमति पाइसकेको छ।

वैदेशिक नेपालीहरूले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८२ बैशाख २२ गते तोकिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइन सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ICRA NP-IR Double B Minus (BB-) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

विदेशमा रहेका नेपालीहरूले नेपालको पूँजी बजारमा प्रत्यक्ष सहभागी हुने अवसरका रूपमा यस आईपीओलाई लिएको देखिन्छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : १५ बजे