काठमाडौं। प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ।
बैंकका अनुसार योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष तोकिएको छ।
योजनाअन्तर्गत घर कर्जाको सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ। बैंकका देशभरका ३०० शाखाबाट उक्त कर्जा सुविधा उपलब्ध हुने बताइएको छ।
त्यस्तै, योजनाअन्तर्गत बढीमा दुई सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न शैक्षिक कर्जा सुविधा पनि उपलब्ध गराइएको छ। उक्त कर्जाको ब्याजदर औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष कायम गरिएको छ भने कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
योजनाअन्तर्गत पहिलो वर्ष डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइनेछ।
प्रभु बैंकले विदेशमा रहेका नेपालीबाट प्राप्त विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत परिचालन गर्दै उनीहरूको आवासीय तथा दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले योजना ल्याइएको जनाएको छ। बैंकका अनुसार योजनाले निक्षेप विस्तार, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह र प्रवासी नेपालीसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तारमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।








प्रतिक्रिया