काठमाडौं । युक्रेन हमलामा रुसले १९ हजार ५ सय रुसी सेना गुमाएको युक्रेनले दाबी गरेको छ । २४ फेब्रुवरीदेखि सुरू भएको हमलामा ठूलो संख्यामा रुसी सेना मारिएको युक्रेनको सेनाले दाबी गरेको छ ।
रुसले ७२५ ट्यांक, १९२३ बख्तरबन्द, १५४ विमान र १३७ हेलिकप्टरहरू गुमाएको सशस्त्र बलका जनरल स्टाफले फेसबुकमा लेखेका छन् । यसअघि अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोले युक्रेनमा रुसले १५ हजार सैनिक गुमाएको दाबी गरेको थियो ।
त्यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा १७९३ सर्वसाधारण मारिएको र २४३९ जना घाइते भएको बताएका छन् ।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले रुसले अर्को आक्रमणका लागि दशौँ हजार सैनिकहरू केन्द्रित गरिरहेको बताएका छन् । रूसले अब युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गरिरहेको सैन्य विश्लेषकहरूको भनाइ छ । रुसले पनि युक्रेनका प्रमुख सहरहरुबाट आफ्ना सेना फिर्ता गरेको छ ।
मुख्य सहरबाट सेना फर्किरहेका बेला त्यहाँ ठूलो संख्यामा सर्वसाधारण मारिएका विवरण सार्वजनिक भएका छन् । एक साताअघि बुचा सहरमा पाशविक ढंगले मारिएका सर्वासाधारणहरूको शव सार्वजनिक भएको थियो । तर, ती हत्यामा आफ्नो संलग्नता नरहेको रुसी सेनाले दाबी गर्दै आएको छ ।
प्रतिक्रिया