काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बुद्धिमत्ता (एआई) को विकासको गति रोक्नुभन्दा प्रत्येक कम्पनीले आफ्ना मोडल सुरक्षित रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
एन्थ्रोपिकका सीईओ डारियो आमोडेईले एआई विकासको गति सुस्त बनाउनुपर्ने धारणा सार्वजनिक गरेपछि सुरु भएको बहसमा जुकरबर्गले आफ्नो दृष्टिकोण स्पष्ट पारेका हुन् । सामाजिक सञ्जाल एक्समा मंगलबार गरेको पोस्टमा जुकरबर्गले प्रत्येक एआई कम्पनीको आफ्ना मोडल सुरक्षित रूपमा प्रशिक्षण गर्ने जिम्मेवारी र त्यसका लागि आवश्यक प्रोत्साहन दुवै रहेको बताए ।
उनले प्रयोगकर्ताको विश्वास र मोडलको ‘अलाइनमेन्ट’ (प्रयोगकर्ताको उद्देश्यअनुसार काम गर्ने क्षमता) भविष्यमा एआई कम्पनीबीचको मुख्य प्रतिस्पर्धात्मक आधार बन्ने उल्लेख गरे । ‘प्रयोगकर्ताले आफूले चाहेजस्तो काम नगर्ने एआई एजेन्ट प्रयोग गर्न चाहँदैनन् । त्यसैले कम्पनीहरूलाई आफ्ना मोडललाई अझ विश्वसनीय बनाउन स्वाभाविक दबाब हुन्छ,‘ उनले भने ।
जुकरबर्गका अनुसार एआई मोडलबाट क्षति भए कम्पनीहरूले कानुनी दायित्वसमेत व्यहोर्नुपर्ने भएकाले सुरक्षा सुनिश्चित गर्नु उनीहरूको हितमै छ । उनले मेटाले आफ्नो ‘म्युज’ मोडल सार्वजनिक गर्नुअघि सुरक्षा र साइबर सुरक्षामा थप काम गर्न केही महिना ढिलाइ गरेको उदाहरण पनि दिए । ‘हामीले अरू कम्पनीलाई पनि रोक्नुपर्छ भनेनौँ, हामीले आफ्नै कामको हिस्सा बनाएर सुरक्षा सुनिश्चित ग¥यौँ,‘ उनले लेखेका छन् ।
जुकरबर्गले एन्थ्रोपिक र माइक्रोसफ्टका धारणा जस्तै एआई प्रणालीको स्वतन्त्र मूल्यांकन गर्नुपर्ने पक्षमा पनि समर्थन जनाएका छन् । उनका अनुसार स्वतन्त्र मूल्यांकनकर्ता र सल्लाहकारको संलग्नताले उद्योगमा राम्रो अभ्यास स्थापित गर्न मद्दत गर्छ । ‘मेटामा विभिन्न क्षेत्रमा स्वतन्त्र मूल्यांकन भइरहेको छ । यस्तो अभ्यासले कामको गुणस्तर सुधार्छ र अन्य कम्पनीले पनि यसलाई अपनाउन सक्छन,‘ उनले भने ।
‘सुपरइन्टेलिजेन्स’ सबैका लागि उपयोगी हुनुपर्छ
गत महिना प्रकाशित आफ्नो ब्लगलाई उद्धृत गर्दै जुकरबर्गले भविष्यको ‘सुपरइन्टेलिजेन्स’ सीमित संस्थाको नियन्त्रणमा नभई सबैलाई सशक्त बनाउने उपकरण हुनुपर्ने धारणा दोहो¥याए ।
उनले एआईलाई मानव सभ्यताको सबैभन्दा महत्वपूर्ण प्रविधिमध्ये एक भन्दै यसको अवसर र जोखिम दुवैलाई गम्भीर रूपमा लिनुपर्ने बताए । तर, एआईले मानव अस्तित्व नै समाप्त गर्ने स्तरको जोखिम उत्पन्न गर्छ भन्ने आशंकासँग आफू सहमत नभएको पनि स्पष्ट पारे । उनका अनुसार मेटाको एआई विकासको आधार व्यक्तिगत सशक्तीकरण, नवप्रवर्तन र शक्ति सन्तुलन कायम राख्ने सिद्धान्तमा आधारित छ ।
एआई उद्योगमा बहस तीव्र
हाल एआई उद्योगमा ‘क्षमता बढाउनुअघि सुरक्षा सुनिश्चित गर्ने कि विकासको गति कायम राख्ने’ भन्ने विषयमा बहस तीव्र बनेको छ । एन्थ्रोपिकका अनुसन्धानकर्ता जेकब कोक्सनले ‘सुपरइन्टेलिजेन्ट’ प्रणाली मानवताका लागि वास्तविक जोखिम बन्न सक्ने भन्दै कम्पनीबाट राजीनामा दिएपछि यो बहसले थप गति लिएको छ । एएनआई








प्रतिक्रिया