Logo

मुख्य समाचार

सीआईबी प्रमुख किरण बज्राचार्यलाई सरुवा गर्ने तयारी



काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई सरुवा गर्न तयारी थालिएको छ । बज्राचार्यलाई सरुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान छलफल भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।

सुन तस्करी जाँचबुझ आयोगले एआईजी बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको छ । ब्युरोले ६० केजी र भेपमार्फत भएको सुन प्रकरणको अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा सीआईबीको गम्भीर त्रुटि देखिएको आयोगको अनुसन्धान निष्कर्ष छ । ६० किलो सुन अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि आयोगले कारबाही गर्न सिफारिस गरेको छ ।

सुन तस्करीमा संलग्न आरोपी जीवन चलाउनेप्रति एआईजी बज्राचार्य ‘नरम’ देखिएको आयोगको ठहर छ । चलाउनेलाई सीआईबीले प्रतिवादी कायम गरे पनि सुरुमा कागज गरेर छाडेको छानबिनबाट देखिएको छ ।

प्रतिवेदनले दोषी ठहर गरेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बज्राचार्यलाई सरुवा गर्न तयारी गरेका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १ : १९ बजे