Logo

मुख्य समाचार

धारिलो हतियार प्रहार गरी किशोरीको हत्या


२२ फाल्गुन २०८०, मंगलबार  

92
Shares

विराटनगर । मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ । प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो । पथरीशनिश्चरे नगरपालिका–७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ती किशोरी मामाको छोराको घरमा बस्दै आएकी थिइन् । घर पसिसरमा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरीको भनाइ छ ।

किशोरीको गर्धनसहित शरीरका विभिन्न भागमा हतियारको चोट देखिएको छ । आक्रमणका क्रममा उनी चिच्याएपछि दाजु विनोद कोठाबाट निस्किएर घटनास्थलमा गएका थिए । उनले आफू पुगेको केही बेरमै बहिनीको मृत्यु भएको प्रहरीलाई जानकारी गराएका छन् ।

उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ की विद्यार्थी हुन् । किशोरी मामाको छोरा विनोदले घरमा सञ्चालन गरेको होटलमा काम सघाउँदै, स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । घरका मानिस एवं आसपास छिमेकका मानिसहरुसँग सोधपुछ गर्ने र शंकास्पद व्यक्तिहरुको निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ३२ बजे