Logo

मुख्य समाचार

‘समावेशी र उन्नत राष्ट्रको आवश्यकता छ’



पाँंचथर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको सद्भाव र सहकार्यसहितको समावेशी र उन्नत राष्ट्रको आवश्यकता रहेको बताएका छन् । ।

पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को बुधबार उदघाट्न गर्दै उनले कसैलाई निषेध गरेर नभइ समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्ने राष्ट्र समृद्ध बन्ने बताए ।

उनले देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किरात सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि उल्लेख गरे ।

राष्ट्रपति पौडेलले साझा र एकताबद्ध सभ्यताबाट एउटा रंग निकाल्ने हो भने, सभ्यता अधुरो रहने टिप्पणी गरे ।

यो अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकताबद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने,‘म संविधानको त्यही मर्म र भावनाबाट अघि बढ्न सम्पूणर् नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपिल गर्न चाहन्छु ।’

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : ३२ बजे