Logo

मुख्य समाचार

राखेप सदस्य सचिव घिसिङले भने— नेपाल साहसिक पर्यटनको गन्तव्य



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाल साहसिक खेलको गन्तब्य भएको र साहसिक खेलमा नेपालले विश्वका कैयौं राष्ट्रलाई आकर्षित गर्न सक्ने बताएका छन् ।

दक्षिण कोरियाको सिओलमा फेब्रुअरी ६ देखि ८ तारिखसम्म भएको स्पोर्ट्स ग्लोबल टुरिजम कन्भेन्सनलाई सम्बोधन गर्ने क्रममा सदस्य—सचिव घिसिङले यस्तो बताएका हुन् । कार्यक्रम दक्षिण कोरियास्थित नेपाली राजदूतावास, द ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ युनिभर्सिटी र एमआईटी फाउन्डेसनको संयुक्त आयोजनामा भएको थियो ।

सो अवसरमा सदस्य—सचिव घिसिङले खेलकुदले सम्पूर्ण मानव जीवनको स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै खेलकुदलाई उद्योगका रुपमा विकास गर्न सके राष्ट्रको अर्थतन्त्र बृद्धिमा पनि योगदान गर्न सकिने धारणा राखेका थिए ।

दक्षिण कोरिया भ्रमणका क्रममा सदस्य—सचिव घिसिङले त्यहाँस्थित खेलकुदका विभिन्न निकायका प्रतिनिधिसंग पनि भेट गरी महत्वपूर्ण छलफलहरु गरेका छन् । कोरियाली खेलकुद तथा ओलम्पिक कमिटीका पदाधिकारीसँगको भेटमा सदस्य—सचिव घिसिङले दक्षिण कोरियाले सन् १९८६ को एसियन गेम्स र सन् १९८८ को ओलम्पिक गेम्सदेखि हालसम्म प्राप्त गरेका उपलब्धीको प्रशंसा गर्दै कोरियाले प्राप्त गरेका उपलब्धीबाट नेपाल सिक्न ईच्छुक रहनुका साथै सहकार्यका लागि आग्रह गरे ।

कोरियन एन्टी डोपिङ एजेन्सी (काडा) का पदाधिकारीसंगको भेटमा सदस्य—सचिव घिसिङले स्वस्थ्य खेल प्रदर्शनको अवधारणा सम्बन्धमा काडाले गरेको काम निकै प्रभावकारी र अनुकरणीय रहेको भन्दै नेपालको एन्टी डोपिङ हेर्ने युनिटसँग सम्बन्ध स्थापना गरी सहकार्यका लागि प्रस्ताव गरे ।

कोरियाली इन्स्टिच्यूत अफ स्पोर्ट्स साइन्सका (किस) का प्रतिनिधिसंगको छलफलमा राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) र किसबीच सहकार्यका लागि राखिएको प्रस्तावमा पनि सहमति भएको थियो । सदस्य—सचिव घिसिङले हान्याङ युनिभर्सिटीको पनि अवलोकन भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : १४ बजे