Logo

मुख्य समाचार

बालकुमारी घटना प्रकरण : छानबिन आयोगले लियो भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको बयान



काठमाडौं । ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बयान लिएको छ । यसै साता मन्त्री ज्वालाको बयान लिएको आयोगका अध्यक्ष शेखर पौडेलले जानकारी दिए ।

मन्त्री ज्वालाको बयानसँगै अब आयोगले छानबिनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गत पुस १३ गते बालकुमारीमा प्रहरीले गोली चलाएको थियो सोही क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।

घटनामा मन्त्री ज्वाला सवार बा२झ ५८६१ नम्बरको ल्यान्डक्रुजर प्राडो समेत जलाइदिएका थिए । सोही घटनाको छानबिन गर्न सरकारले पुस १६ गते उच्च अदालत पाटनका पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।

कोरिया भाषा परीक्षाको फाराम भर्ने विषयमा विवाद हुँदा घटनाले अप्रिय रूप लिएको थियो । सरकारले आयोगलाई एक महिनाभित्र घटनामा भएको मानवीय, भौतिक लगायतका क्षतिको विवरण, घटनामा संलग्नहरूको कमीकमजोरी पत्ता लगाएर कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिएको थियो । तर, आयोगले एक महिनामा प्रतिवेदन बुझाउन नसकेपछि थप १५ दिनको समय थप गरेको थियो ।

बालकुमारी घटनामा गृह मन्त्रालयले प्रहरीको कमजोरी देखाउँदै फिल्डकमान्डमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गरेको थियो ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख रुद्रप्रसाद पण्डित र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह समेतलाई त्यति नै बेला परिवर्तन गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : ०३ बजे