Logo

मुख्य समाचार

नेपाल व्यापार सर्वेक्षणको प्रमुख नतिजा सार्वजनिक



काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल वितरण व्यापार सर्वेक्षण २०७८ प्रतिवेदनको प्रमुख नतिजाहरु सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त नतिजा सार्वजनिक गरिएको हो ।

सम्मेलनमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाले तथ्यांकहरु वस्तुपरक, यथार्थपरक सत्य हुनुपर्ने भन्दै यसको प्रक्रियामा हामी एकदम सजक भएको बताए । यसअघि साविकको केन्द्रीय तथ्यांक विभागबाट २०६५।०६६ मा पहिलो र ०७८।७९ सालमा दोस्रो सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षण अनुसार मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने जम्मा ४,९८,०५८ व्यापारिक प्रतिष्ठानहरु मध्ये करिब ६८ प्रतिशत सरकारी निकायमा दर्ता भएका छन् भने करिब ३२ प्रतिशत प्रतिष्ठानहरु दर्ता नगरी संचालन भईरहेका छन् ।

यस क्षेत्रमा जम्मा ११,३०,६४५ जना मानिसहरु संलग्न छन् । जसमध्ये महिला ४,०३,९६४ जना (३६ प्रतिशत) र पुरुष ७,२६,६८१ जना (६४ प्रतिशत) रहेका छन् । यसलाई सय प्रतिष्ठानमा हेर्दा औसत १४६ जना पुरुष र ८१ जना महिला रोजगारीमा रहेको देखिन्छ ।

यसैगरी यस क्षेत्रमा संलग्न जम्मा कामदारहरु मध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारहरुको संख्या २,१९,५५१ रहेको छ । जसमा महिला ४५००९ जना (२०.५० प्रतिशत) र पुरुष १,७४,५४२ जना (६०.६० प्रतिशत) रहेको छ ।

सर्वेक्षणले यस क्षेत्रमा तलव ज्याला र अन्य सुविधा लिई काम गर्ने भन्दा तलब ज्याला र अन्य सुविधा नलिई (परिवारका सदस्य) काममा संलग्न रहेका व्यक्तिको संख्या बढि रहेको देखिएको छ ।

त्यस्तै तलवी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रति प्रतिष्ठान औसत वार्षिक रु ६,०४,९१२ खर्च भएको देखिएको छ भने प्रति कामदार औसत बार्षिक रु २,०८,४९४ खर्च देखिन्छ ।

नेपालस्तरीय औद्योगिक वर्गीकरण खण्ड ‘जी’को मुख्य विभाजन ४५ मोटर, मोटरसाईकल आदिको थोक तथा खुदा विक्री र मर्मत ४६ थोक व्यापार (मोटर, मोटरसाईकल बाहेक) ४७ खुद्रा व्यापार (मोटर, मोटरसाईकल बाहेक) मा क्रमश २४ प्रतिशत, १३ प्रतिशत र १८ प्रतिशत व्यापार मार्जिन रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार व्यापारिक प्रतिष्ठानको आफ्नो मुख्य कार्यबाहेक अन्य क्रियाकलापबाट जम्मा रु २.४ अर्ब अन्य अम्दानी भएको पाइयो र प्रति प्रतिष्ठान औसत अन्य अम्दानी रु ६९ हजार पाइएको छ । त्यसैगरी व्यापारिक प्रतिष्ठानको संचालन खर्च जम्मा रु १३३ अर्थ र प्रति प्रतिष्ठान औसत संचालन खर्च रु २६४ हजार देखिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  २ : १८ बजे