Logo

मुख्य समाचार

खेल क्षेत्रका लागि बजेट अपुग भयो : डा.शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसमा डा.शेखर कोइरालाले सरकारले खेल विकासका लागि आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् ।

शनिबार कराते एकेडेमी सातदोबाटो, ललितपुरमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता–२०८०’को समापन तथा पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले चीनमा सम्पन्न एसियामा उत्कृष्ट प्रदर्शन गरेका कराते र क्रिकेट खेलाडीलाई पूर्वघोषित पुरस्कार वितरण गर्न नसकेको पनि बताए ।

मुलुकको विकासका लागि खेल क्षेत्रको विकास गर्नु अपरिहार्य रहेको कोइरालाको भनाइ थियो । खेलकुदले मानिसलाई अनुशासित बनाउने भन्दै नेता कोइरालाले खेल आत्मरक्षाका लागि मात्र नभइ आध्यात्मिक समेत भएको बताए ।

गत वर्षमात्रै अध्ययनकका लागि एक लाखभन्दा बढि विदार्थी देश बाहिर गएको स्मरण गराउँदै यसलाई रोक्न पनि खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । सन्त नेता कृष्ण प्रसाद भटट्राई पनि खेलप्रेमी नेता भएको स्मरण गराउँदै उनले प्रतियोगिताले उनको सम्मान अझै बढेको बताए ।

नेता कोइरालाले खेलमा हार र जित स्वाभाविक भएको भन्दै हारमा आत्तिने र जितमा मात्तिन नहुने बताए । आफूहरु संसदमा रहेको नाताले संधै खेल क्षेत्रको विकासका लागि सक्रिय रहने विश्वास नेता कोइरालाले दिलाए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, वाग्मती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन, नेपाली कांग्रेस ललितपुरका क्षेत्रीय सभापतिहरु सुन्दरमान थिंङ, महेश्वर थापा, महेश खड्का, ललितपुर कांग्रेस नेता मथुरा घिमिरे, कराते महासंघका महासचिव दावा गुरुङलगायत सहभागी थिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ५१ बजे