Logo

मुख्य समाचार

नेपालमा लगानी गर्न विश्वका प्रतिष्ठित व्यवसायी इच्छुक छन् : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बैशाखमा हुने लगानी सम्मेलनबाट नेपालका उद्योगी व्यवसायी र लगानीकर्ताले पर्याप्त फाइदा उठाउन सक्नुपर्ने बताएका छन् ।

उनले नेपाली युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ हुन नसकेको भन्दै सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ र ब्राण्डिङ गर्नुपर्नेमा जोड दिए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले आर्थिक गतिविधि विस्तारै बढिरहेको, सेयर बजार उकालो लागेको जस्ता उदाहरण दिँदै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेकोले त्यसको सकारात्कम प्रचार हुनुपर्नेमा जोड दिए ।

उनले आर्थिक क्षेत्रमा गतिविधि बढाउन आत्मविश्वासको कमि भएको भन्दै सकारात्मक वातावरण निर्माणको लागि आत्मविश्वास बढाएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए ।

उनले नेपालीहरु उद्यमशीलतामा निकै सक्षम रहेको र विदेशमा रहेर उद्यमशीलता विकास गर्न सक्नेले नेपालमा पनि राम्रो गर्ने विश्वासका साथ भने, ‘जहाँजहाँ पनि नेपालीहरु पुगेका छन् उनीहरुले धेरै राम्रो गरेका छन् । उनीहरुले नेपालमा गर्न नसक्ने भन्ने केहीपनि छैन,’ उनले थपे ‘यो उपयुक्त समय हो कि हामीले एउटा सकारात्मक दृष्टिकोणका साथ अगाडि बढौं र आत्मविश्वास जगाऔं । आत्मविश्वास बढाएसँगै धेरै कुरा थप सकारात्मक भएर जान्छ ।’

‘इमर्जिङ नेपाल’ नाम दिएर बैशाखमा गर्न लागेको लगानी सम्मेलन गर्न आवश्यक कानूनी र अन्य आधारहरु पूरा गर्न आफूहरु लागिरहेको बताएका उनले नेपालमा लगानी गर्न भारतका उच्च स्तरका व्यापारी व्यवसायी इच्छुक रहेको बाताए ।

भारतसँगै अमेरिका, चाइनालगायतका व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक देखिँरहँदा सबैतिरबाट लगानी गर्ने वातावरण बनिरहेकोले नेपाली लगानीकर्ता र उद्यमीले यो अवसरको फाइदा लिएर नेपालको प्रमोट गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : ०२ बजे