काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्वले अनेकतामा एकता कायम गरी नेपालीबीचमा सुमधुर सम्बन्ध र राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।
‘मकर सङ्क्रान्ति–माघे सङ्क्रान्ति’का अवसरमा आज बिहान शुभकामना व्यक्त गर्दै देउवाले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइँने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको बताएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पनि ‘मकर सङ्क्रान्ति–माघे सङ्क्रान्ति’को सबैलाई शुभकामना दिएका छन् ।
नेपालले थारु समुदाय र मगर समुदायमा माघे संक्रान्ति पर्वको आफ्नै साँस्कृतिक मान्यता सहित विशेष महत्व रहेको उल्लेख गर्दै नेपालमा मनाइँदै आएको मौलिक चाडपर्वले आपसी एकता र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।
‘नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । यी चाडपर्वहरूले एक आपसमा एकता र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
हाम्रो भौगोलिक, धार्मिक, साँस्कृतिक, जातीय एवम् भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान सहित अनेकतामा एकता कायम गर्नमा यस्ता चाडबाडहरुको महत्वपूर्ण योगदान रहेको छ,’नेपालले भनेका छन् ।
‘मकर सङ्क्रान्ति–माघे सङ्क्रान्ति’का अवसरमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।
प्रतिक्रिया