Logo

Breaking News 1

एमालेको बागमती प्रदेश अधिवेशनका लागि छानिए साढे १२ सय प्रतिनिधि



काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम लगभग सकिएको छ । यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमालेले जनाएको छ ।

एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले एकाधबाहेक सबै जिल्लाको प्रतिनिधि छनोटको काम सकिएको बताए ।

एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका हुनेछन् । यो जिल्लाबाट १३२ जना प्रतिनिधि छनोट भइसकेका छन् । त्यस्तै काठमाडौँपछि काभ्रेबाट १२५ र तेस्रोमा मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । त्यसैगरी धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । यो संख्या जोड्दा एकहजार ११३ जना हुन आउँछ । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् । यो संख्या जोड्दा १२ सय ८ पुग्छ ।

८० प्रतिशत प्रतिनिधि सर्वसम्मत छनोट भएको पाण्डेले जानकारी दिए । त्यसैगरी  यसबाहेक प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत हुनेछन् । यो समेत जोड्दा एमाले बागमती प्रदेशमा प्रतिनिधिको संख्या १२ सय ५० हाराहारी पुग्ने एमाले प्रदेश कमिटीका उपसचिव महेश वर्तौलाले जानकारी दिए ।

काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । प्रदेश कमिटीको अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । बहालवाला प्रदेश अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहाल तथा बागमतीका पूर्वसभामुख सानु श्रेष्ठ नेतृत्वको लिने आकांक्षा देखाएका छन् । बागमती प्रदेशमा  एमालेका एक लाख नौ हजार संगठित सदस्य रहेका छन् । तीमध्येबाट साढे १२ सयको हाराहारी प्रतिनिधि छनोट भएका हुन् । एमालेले १२५ संगठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था गरेको छ । तर दलितको हकमा ५० संगठित सदस्य बराबर एकजना प्रतिनिधि छानिएका छन् ।

त्यस्तै २२ जनसंगठन रहेकामा एक जनसंगठन बराबर २ र तीन जना छनोट हुने व्यवस्था गरेको छ । त्यस्तै ११ वटा प्रत्येक विभागबाट एक जना प्रतिनिधि छनोट गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : ४२ बजे