Logo

Breaking News 1

संसदको गतिरोध हटाउ !



काठमाडौं । विमानस्थलबाट भएको सुन तस्करी प्रकरणले अहिले संसद समेत प्रभावित भइरहेको छ । तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग राखेर संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हरेक बैठक अवरुद्ध गर्दै आएको छ । सोमबारको बैठकमा भने एमालेको फरक स्वरुप देखियो ।

एमालेभन्दा एक कदम अघि बढेर समिति गठन गर्नेमात्रै होइन, अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका कांग्रेस सांसद सुनिल शर्मालाई बोल्न दिएर एमालेले बैठक अवरुद्ध गरेको थियो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक एकसाताका लागि स्थगित गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विषेश पत्रकार सम्मेलन गर्दै सुन तस्करी प्रकरणबारे छानविन गर्न समितिको विकल्प नभएको बताइसकेका छन् । सोमबार समेत नेकपा एमालेको पदाधिकारी बैठकले अध्यक्ष ओलीको धारणालाई अनुमोदन गरेको छ ।

यता एमालेको अवरोधकै विषयमा समेत छलफल गर्न बोलाइएको सत्तारुढ दलको बैठकले भने सरकारी संयन्त्र नै अनुसन्धानका लागि सक्षम रहेकाले अर्को समिति आवश्यक नपर्ने र एमालेको मागअनुसार समिति गठन नगर्ने निर्णय नै गरेको छ ।

यसरी सत्तारुढ दल र प्रतिपक्षी दलका बिचमा कुरा नमिल्ने अबस्था बनेपछि जनताको सार्वभौम थलो संसद बन्धक हुने अबस्थामा पुगेको छ । त्यसको असर भने जनजिबिकामा परेको छ । देशभर वर्षा शुरु भएपछि बाढी पहिरोको जोखिम बढेको छ । त्यसका बारेमा संसदमा छलफल हुन सकेको छैन ।

अर्कातर्फ महत्वपुर्ण विधेयकहरु तत्काल पारित गर्नुपर्ने अबस्था छ । तर संसदको निरन्तरको गतिरोधले त्यो पनि सम्भव हुन सकेको छैन । त्यसैले आ–आफ्ना अडानबाट पछि हटेर भएपनि संसदको जारी गतिरोध हटाउन सबै तयार हुनुको विकल्प छैन ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : ४८ बजे