Logo

Breaking News 1

कांग्रेसको सकारात्मक अग्रसरता



काठमाडौं । देशकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले भर्खर खुलेका नयाँ दलभन्दा एककदम अघि बढ्दै केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ । परम्परावादी र रुढीबादी दलको आरोप खेपिरहेको कांग्रेसले नेपालको राजनीतिक इतिहासमै पहिलोपटक आन्तरिक बैठक नै प्रत्यक्ष प्रशारण गरेपछि यसको वाछिटाले समेत अन्य दललाई दबाब दिने निश्चित छ ।

संविधान बन्ने बेलामा भएका महत्वपुर्ण बैठकको सूचना समेत दलका नेताहरुले नदिएको इतिहास रहेका बेला कांग्रेसले भने केन्द्रीय समिति बैठक पारदर्शी रुपमा अघि बढाएको छ । त्यो पनि ७० कटेका सभापति शेरबहादुर देउवाकै प्रस्तावमा । कांग्रेसभित्र र अन्य दलहरुमा समेत पुस्तान्तरण र रुपान्तरणको बहश अहिले उत्कर्षमा छ । युवा पुस्ता आउनुपर्ने मागका पछि रहेको कारणका रुपमा पुराना पुस्ताले अहिलेको पुस्ताको भावना बुझ्न नसकेका रुपमा चर्चा हुने गर्दछ ।

त्यसोत यसअघि तत्कालिन नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बिचको विवाद चरम उत्कर्षमा पुगेका बेला तत्कालिन नेकपाका महासचिव विष्णु पौडेलले समेत पार्टीको बैठक प्रत्यक्ष प्रशारण गर्ने एजेण्डा इन्डोर्स गराएका थिए । तर त्यो फगत पार्टीभित्रको तिक्ततालाई कम गर्ने बहानामा रुपमा अर्थ लगाइएको थियो ।

अहिले पनि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेकै छ । तर विवाद बढेको भएपनि कांग्रेस विभाजन हुने अबस्थामा भने पुगेको छैन । तर सभापति देउवाविरुद्ध महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आवाज उठाइरहेको र लामो समयसम्म बस्न नसकेको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारणको पछाडि अन्य कारण पनि हुनसक्लान् ।

तर कांग्रेसले जे शुरु गरेको छ, त्यो ऐतिहासिक त छ नै, अन्य दललाई समेत अब आन्तरिक बैठक समेत पारदर्शी बनाउन दबाब बढेको छ । जुन सकारात्मक समेत छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : ५३ बजे