काठमाडौं । कोशी प्रदेश सरकार गठनको कसरत शुरु भएसँगै सम्भावित गठबन्धनका बारेमा समेत चर्चा शुरु भएको छ ।
कोशी प्रदेश सरकारको नेतृत्वमा रहेका हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो । कार्की नेतृत्वको सरकार ढलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार गठनका लागि नयाँ सत्ता समीकरणमा सामेल हुने तयारी गरेको छ ।
राप्रपाको कोशी प्रदेश समितिले नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने भन्ने विषयमा शनिवार अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफलसमेत गरेको छ । मध्यावधी चुनावतर्फ जानसक्ने चिन्ता र आशंकाका बिचमा राप्रपाले मध्यावधि निर्वाचनमा जाने वातावरण बन्न नदिने गरी सरकारमै सहभागी हुने विषयमा छलफल शुरु भएको हो ।
गत पुस २४ गते एमालेका हिक्मत कार्की नेतृत्वको सरकार गठन हुँदा राप्रपा पनि सरकारमा सहभागी भएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतवार नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी थालेका छन् ।
प्रतिक्रिया