Logo

Breaking News 1

पूर्वाधारसँगै क्रिकेटमा ‘एक्स्पोजर’ पनि बढाउन आवश्यक



काठमाडौं । नेपालले पहिलोपटक एकदीवसीय विश्वकप खेल्ने सपना चकनाचुर पारेको छ । विश्वकप छनोट क्वालिफायरका लागि नेपालले उत्कृष्ट खेल खेल्दै जिम्बाब्बेको यात्रा तय भएको भएपनि विश्वकप छनोटबाट भने नेपाल बाहिरिएको छ ।

सिमित स्रोत र साधनका बिचमा नेपालले जस्तो प्रदर्शन गरेको छ, त्यो प्रशंशायोग्य नै छ । तर विश्वक्रिकेटका हस्ती देशहरु वेष्ट इन्डिज र जिम्बाब्बेसँगको खेलपछि भने नेपालको कमजोरी छताछुल्ल भएको छ ।

देशमा रहेको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान र कमजोर टीमहरुसँगको प्रतियोगिताको भरमा नेपालले टेष्ट राष्ट्र वेष्ट इन्डिजजस्तो देशसँग सम्मानजनक योगफल तयार गर्न सफल भएपनि एकदीवसीय क्रिकेट वरियतामा नेपालभन्दा तल रहेको नेदरल्याण्डसँग ७ विकेटले पराजित हुँदासम्म नेपाली क्रिकेटको कमजोरी देखिएको छ ।

नेदरल्याण्डसँग पराजित भएपछि नेपालको एकदीबसीय विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने सपना तुहिएको भएपनि एसिया कपमा नेपालले भारत पाकिस्तानजस्ता क्रिकेटका महारथीहरुसँग खेल्ने निश्चित भइसकेको छ । यसले नेपाली क्रिकेट टीमले एक्स्पोजर पाउनेछ । नेदरल्याण्डसँगको खेलपछि कप्तान रोहति पौडेलले समेत एकदीवसीय विश्वकप छनोट खेलमा नेपालले राम्रो एक्स्पोजर पाएको प्रतिक्रिया दिएका छन् ।

नेपाल क्रिकेट संघले पछिल्लो समय गरेको काम तारिफयोग्य भएपनि अब टेष्ट मान्यता पाएका देशहरुसँगै नेपालभन्दा वलियो टिमसँग समेत मैत्रीपुर्ण र एकदीवसीय क्रिकेट खेल्ने वातावरण बनाउन भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको छ । क्यान मात्रै होइन, सरकारले समेत कुटनीतिक वार्तामार्फत् भारत पाकिस्तानजस्ता देशसँग नेपालले खेल खेल्ने वातावरण बनाउनु क्रिकेटका लागि मात्रै होइन देशकै लागि पनि हितकर हुनेछ ।

किनकि पछिल्लो समय क्रिकेट खेलका रुपमा मात्रै रहेन, देशको विश्वव्यापी परिचय र कुटनीतिक सम्बन्ध विस्तार र सुधारको माध्यम समेत बनिरहेको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : २५ बजे