Logo

Breaking News 1

भारतसँग भएका सम्झौता कार्यान्वयनमा जोड देउ !



काठमाडौ । चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किए । आफ्नो भ्रमणलाई फलादायी भनेका प्रधानमन्त्री दाहाललाई भारतसँग भएका सम्झौता महत्वपुर्ण भएको समेत बताएका छन् । भ्रमण महत्वपुर्ण भएको प्रमाणका रुपमा भने नेपाल र भारतका बिचमा भएको व्यापार तथा पारवाहन सम्झौतालाई प्रधानमन्त्री दाहालले प्रस्तुत गरे ।

भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भएको पत्रकार सम्मेलनमा समेत दाहालले लामै फेहरिस्त सार्वजनिक गरेका छन् । केही हदसम्म भ्रमण फलदायी भएको मान्न सकिन्छ । भारतसँग खासगरी सिमा समस्या, हवाई रुट र विद्युत व्यापारका बारेमा भएका वार्ताले सकारात्मक सन्देश दिएकै छन् ।

तर यसअघिका प्रधानमन्त्रीका भ्रमणमा समेत यस्ता सम्झौता र छलफल नहुने गरेको होइन । महाकाली सम्झौता भएको २६ वर्षसम्म पञ्चेश्वर परियोजना अहिलेसम्म अघि बढ्न सकेको छैन । नेपाल र भारत दुबै देशको सहमतिमा गठन गरिएको प्रवुद्ध समुहले तयार गरेको इपीजी प्रतिवेदन अझै भारतले स्वीकार गरिसकेको छैन । त्यसबाहेक भारतसँग भएका कतिपय सम्झौता पनि कार्यान्वयनको चरणमा पुग्न समय लाग्ने गरेको छ ।

तर अहिले प्रधानमन्त्री दाहालको भ्रमणका शिलशिलामा पहिलोपटक पञ्चेश्वर परियोजनाको डिपिआर तयार गर्न तिन महिनाको समय तोकिएको छ । अब यो परियोजना अघि बढ्यो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्तै सिमा समस्या समाधानका लागि भारत तयार हुने अबस्थामात्रै बन्यो भने पनि दाहालले भनेजस्तै भ्रमण फलदायी हुनेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ११ : ०१ बजे