Logo

विश्व

राष्ट्रसंघको महासभामा बाइडेनले भने -इरानका प्रदर्शनकारीसँग मेरो ऐक्यबद्धता



न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका महिला प्रदर्शनकारीसँग आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन् । प्रहरीद्वारा गिरफ्तार गरिएकी एक युवतीको मृत्युको विरोधमा भइरहेका प्रदर्शनमा अन्य ८ जनाको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले प्रदर्शनकारीसँग आफ्नो एक्यबद्धता रहेको बताएका हुन् ।
इरानी राष्ट्रपति इब्राहिम राईसीको भाषणको लगक्तै संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै बाइडेनले तेहरानका प्रदर्शनकारीहरूलाई अभिवादन गरे ।

‘आज हामी साहसी नागरिकहरू र इरानका साहसी महिलाहरूसँग एकबद्ध छौं जो अहिले आफ्नो आधारभूत अधिकार सुरक्षित गर्न प्रदर्शन गरिरहेका छन्,’ बाइडेनले महासभालाई सम्बोधन गर्ने क्रममा भने ।

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा महिलाले तीब्र विरोध प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । विभिन्न ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका छन् ।

प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्र्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।
तीन दिनसम्म कोमामा रहेकी महसा अमिनीको शुक्रबार अस्पतालमा निधन भएको थियो । अमिनीलाई इरानको प्रहरीले गत साता राजधानीमा गिरफ्तार गरेको थियो । उनीमाथि हिजाब उल्लंघन गरेको आरोप लगाइएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ०८ बजे