काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायका लागि ‘बिज२४’ नामक व्यवस्थित ताररहित इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यस सेवामार्फत व्यवसायिक परिसरमा समान र भरपर्दो ताररहित इन्टरनेट पहुँच, बादल प्रविधिमार्फत सञ्जाल व्यवस्थापन तथा प्राथमिकताका आधारमा ग्राहक सहायता उपलब्ध हुनेछ।
कम्पनीले साना तथा मध्यम व्यवसायले घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट तथा एउटै राउटरमा निर्भर हुँदा परिसरका सबै क्षेत्रमा ताररहित इन्टरनेट नपुग्ने, व्यवसाय सञ्चालनका महत्वपूर्ण समयमा इन्टरनेट अवरुद्ध हुने र सञ्जालको अवस्थाबारे पर्याप्त जानकारी नहुने समस्या भोग्दै आएको जनाएको छ।
यिनै समस्यालाई लक्षित गरी बिज२४ सेवा विकास गरिएको वर्ल्डलिंकले जनाएको छ। कम्पनीका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार यो सेवा क्लिनिक, रेस्टुरेन्ट, मार्ट, स्टुडियो तथा सहकार्यमा काम गर्ने कार्यालयलगायतका साना तथा मध्यम व्यवसायलाई लक्षित गरिएको हो।
बिज२४ अन्तर्गत व्यवसायको क्षेत्रफल, भौतिक संरचना र आवश्यकताका आधारमा ताररहित इन्टरनेट सञ्जालको योजना तयार गरिने कम्पनीले जनाएको छ। एउटै राउटरमा निर्भर रहनेभन्दा व्यवसायिक परिसरको आवश्यकता हेरेर थप उपकरण तथा पहुँच विस्तार गर्न सकिने व्यवस्था यसमा रहेको छ।
सेवामा प्राथमिकतायुक्त ग्राहक सहायता समेत समावेश गरिएको छ। ग्राहकले सेवा सम्बन्धी समस्याका लागि ०१-५९७००४० मा सम्पर्क गर्न सक्नेछन्।
बिज२४ सेवामा व्यवसायिक स्तरको राउटर र सार्वजनिक स्थिर इन्टरनेट ठेगाना पनि समावेश छन्। कम्पनीका अनुसार सार्वजनिक स्थिर इन्टरनेट ठेगाना निगरानी क्यामेरा, विभिन्न सफ्टवेयर तथा अन्य सूचना प्रविधिसम्बन्धी सेवा सञ्चालनका लागि आवश्यक पर्न सक्छ।
बिज२४ राइज, ग्रो र प्रो गरी तीन तहमा उपलब्ध छ। यी योजनामा २०० मेगाबिट प्रतिसेकेन्डदेखि १ गिगाबिट प्रतिसेकेन्डसम्मको इन्टरनेट गति उपलब्ध रहेको कम्पनीले जनाएको छ।
बिज२४ को वार्षिक शुल्क ३० हजार रुपैयाँबाट सुरु हुन्छ। उक्त शुल्कमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश छैन।
कम्पनीका अनुसार यो सेवा नयाँ ग्राहक तथा सेवा नवीकरण गर्ने दुवै ग्राहकका लागि देशभर उपलब्ध छ।








प्रतिक्रिया