Logo

समाचार

सन्दर्भ जेनजी आन्दोलको एक वर्ष



सत्ता फेरियो, संस्कार र प्रवृत्ति उस्तै

एक वर्षअघि आजकै दिन नेपालको राजनीतिक इतिहासमा एउटा असाधारण अध्याय सुरु भएको थियो । त्यो केवल एउटा आन्दोलन थिएन, परम्परागत राजनीतिक शक्तिको जग हल्लाउने एउटा पुस्ताको विद्रोह थियो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध तत्कालीन असन्तुष्टिको झिल्को बन्यो, र त्यसले दशकौँदेखि जम्दै आएको आक्रोश र कुण्ठालाई विस्फोट गरायो । भ्रष्टाचार, राजनीतिक पहुँचवाद, नातावाद, बेरोजगारी, अवसरको अभाव, राज्य संयन्त्रको अकर्मण्यता र नेतृत्वको अहंकारविरुद्ध जेनजी पुस्ताले सडक रोज्यो ।

भदौ २३ र २४ गतेको त्यो विद्रोहले नेपालको राजनीतिलाई पुरानै लयमा फर्किन नसक्ने गरी बदलिदियो । राज्यको दमनमा युवाहरूले ज्यान गुमाए, सयौँ घाइते भए । २३ भदौको घटनामा १९ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएपछि नेपालको राजनीतिले कोल्टे फे¥यो । चौतर्फी दबाका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः राजीनामा दिनुप¥यो ।

त्यसपछि नेपालको राजनीतिले नयाँ लय त समायो  । शासन सत्तामा बस्ने पात्र  फेरिए । तर आम जनताले खोजेको जस्तो परिवर्तन देखिएको छैन । यद्यपि नयाँ सरकार बनेको एक  वर्ष भएको छैन । तैपनि प्रश्न गर्न मिल्ने समय चाहिं व्यतित भएको छ । आज  एक वर्षपछि सबैभन्दा गम्भीर प्रश्न यही हो—जसका लागि जेनजी पुस्ता सडकमा उत्रियो, ती मुद्दाहरूको सम्बोधन भयो त ? सत्ता परिवर्तन भयो, नेतृत्व परिवर्तन भयो, तर शासन गर्ने शैली र राजनीतिक संस्कार पनि परिवर्तन भयो त?

आन्दोलनको मूल कारण

जेनजी आन्दोलनलाई केवल सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनका रूपमा बुझ्नु ऐतिहासिक भूल हुनेछ । सामाजिक सञ्जाल प्रतिबन्ध त एउटा तत्कालीन उत्प्रेरक निहँु मात्र थियो । वास्तविक असन्तुष्टि निकै गहिरो थियो । नेपालको युवापुस्ता लामो समयदेखि एउटा विरोधाभाससँग बाँचिरहेको थियो । देशमा लोकतन्त्र थियो, तर अवसर सीमित थियो । संविधानमा अधिकार थिए, तर व्यवहारमा पहुँचवालाको मात्र प्रभाव बलियो थियो । निर्वाचन हुन्थ्यो, सरकार फेरिन्थ्यो, मन्त्री फेरिन्थे, तर आम नागरिकको दैनिक जीवनमा परिवर्तनको गति अत्यन्त सुस्त थियो ।

युवाहरूको एउटा ठूलो हिस्सा रोजगारीका लागि विदेश जान बाध्य थियो । देशमा बसेकाहरूले पनि राज्यका अवसर र सार्वजनिक सेवामा निष्पक्षताको अनुभूति गर्न सकेका थिएनन् । अर्कोतर्फ राजनीतिक नेतृत्वका वरिपरि परिवार, आफन्त र पहुँचवालाहरूको प्रभावबारे सार्वजनिक असन्तुष्टि बढिरहेको थियो । त्यसैले जेनजीले सोध्यो—हाम्रो भविष्यको निर्णय सधैँ पुरानै पुस्ताले किन गर्ने? यही प्रश्न आन्दोलनको वास्तविक शक्ति थियो ।

पुरानो संरचनामाथि अविश्वास

जेनजी आन्दोलनको सबैभन्दा ठूलो राजनीतिक सन्देश के थियो भने पुरानो राजनीतिक शैलीप्रतिको अविश्वास । यसले कुनै एउटा पार्टी वा नेताविरुद्ध मात्र प्रश्न उठाएन । यसले लगभग सम्पूर्ण परम्परागत राजनीतिक वर्गलाई कठघरामा उभ्यायो । दशकौँसम्म सत्ता र विपक्षको केन्द्रमा रहेका नेताहरूले जनतामाथि आफ्नो राजनीतिक वैधता स्वाभाविक अधिकारजस्तो ठान्दै आएको आरोप थियो । आन्दोलनले त्यो भ्रम चि¥यो । एक वर्षको अन्तरालमा नेपालको राजनीतिमा देखिएको पुस्तान्तरण त्यसैको परिणाम हो । सडकबाट सुरु भएको असन्तुष्टि अन्ततः सरकार परिवर्तन, अन्तरिम शासन र नयाँ निर्वाचन हुँदै नयाँ राजनीतिक शक्ति तथा नयाँ नेतृत्वको उदयसम्म विस्तार  भयो । ०८२ फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुइतिहाइको मत प्राप्त ग¥यो र बालेन शाह प्रधानमन्त्री बने । यसले नेपालको राजनीतिक शक्ति संरचनामै ठूलो फेरबदल देखायो ।

दशकौँसम्म राष्ट्रिय राजनीतिका निर्णायक शक्ति रहेका नेताहरू अहिले नदेखिने र नसुनिने तहको हैसियतमा खुम्चिएका छन् । हिजो ‘अपरिहार्य’ मानिएका पात्रहरूलाई मतदाताले अस्वीकार गरेका छन् । हिजो राजनीतिमा प्रवेश गर्न संघर्ष गरिरहेका नयाँ अनुहारहरू आज सिंहदरबारको केन्द्रमा पुगेका छन् । यो सामान्य सत्ता परिवर्तन होइन ।

आन्दोलनका अगुवा कता हराए?

यहीँबाट जेनजी आन्दोलनको सबैभन्दा पीडादायी प्रश्न सुरु हुन्छ । जसले सडकमा उत्रिएर जोखिम मोले, जसले गोली खाए, जसले ज्यान गुमाए, जसले राज्यसँग जवाफ मागे, उनीहरू आज राजनीतिको मूलधारमा कता छन् ? आन्दोलनमा होमिएकाहरु कुनै स्थापित नेता थिएनन् । आन्दोलन कुनै परम्परागत पार्टीको झण्डामुनि संगठित थिएन । मुद्दाले युवाहरूलाई सडकमा ल्याएको थियो । यही यसको शक्ति थियो, तर समयक्रममा यही यसको कमजोरी पनि बन्यो ।

नेतृत्वविहीन आन्दोलनलाई संगठित राजनीतिक शक्तिमा रूपान्तरण गर्न कठिन हुन्छ । परिणामतः आन्दोलनले जन्माएको राजनीतिक शून्यमा स्थापित, अवसर खोजिरहेका वा आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिबाट लाभ लिन सक्षम पात्रहरू प्रवेश गरे । त्यसैले आज एउटा गम्भीर आरोप सुनिन्छ—जेनजीले आन्दोलन ग¥यो, तर त्यसको राजनीतिक लाभ अरूले लिए । यो आरोपलाई पूर्ण सत्य वा पूर्ण असत्य भनेर टिप्पणी गर्नुभन्दा यसको राजनीतिक अर्थ बुझ्नु आवश्यक छ । आन्दोलनकारी युवाहरू स्वयं राजनीतिक संस्थागत संरचना निर्माण गर्न नसकेसम्म उनीहरूले उठाएका मुद्दाको प्रतिनिधित्व अरूले गर्ने जोखिम रहन्छ ।

सत्ता फेरियो, प्रवृत्ति फेरिएन

एक वर्षपछि सबैभन्दा कठिन प्रश्न यही हो । पुराना शासक गए । नयाँ शासक आए । पुराना दल कमजोर भए । नयाँ शक्ति बलियो भयो । नयाँ पुस्ताका अनुहार संसद् र सरकारमा पुगे । तर यदि निर्णय प्रक्रियामा पारदर्शिता छैन, राज्य संयन्त्रमा जवाफदेहिता छैन, आलोचनालाई सम्मान गर्ने संस्कार छैन, सार्वजनिक स्रोतको दुरुपयोग रोकिएको छैन र राजनीतिक पहुँचवादको ठाउँमा नयाँ किसिमको पहुँचवाद जन्मिन्छ भने परिवर्तनको औचित्यमाथि प्रश्न उठ्छ । अनुहार बदल्नु र शासन बदल्नु एउटै कुरा होइन । जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई दिएको सबैभन्दा ठूलो चेतावनी यही थियो—जनतालाई केवल नयाँ अनुहार चाहिएको होइन, फेरिएको व्यवहार चाहिएको हो ।

नयाँ सरकार पनि पुरानै प्रशासनिक संस्कार, पुरानै निर्णय प्रक्रियाको अपारदर्शिता, पुरानै शक्ति केन्द्रीकरण र पुरानै राजनीतिक अहंकारमा फस्यो भने इतिहासले त्यसलाई पनि क्षमा गर्नेछैन । जनताले एउटा सरकारलाई सडकमा पु¥याउन सक्छन् भने अर्को सरकारलाई पनि त्यही सडकमा पु¥याउन सक्छन् । जेनजी आन्दोलनले स्थापित गरेको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक पाठ यही हो ।

 ‘हाइज्याक’को बहस

एक वर्षअघिको जेनजी आन्दोलन हाइज्याक भयो कि भएन भन्ने बहस पनि अब भावनात्मक आरोपमा सीमित रहनु हुँदैन । कुनै आन्दोलनको राजनीतिक उपलब्धि कसले प्राप्त ग¥यो भन्ने प्रश्नभन्दा महत्वपूर्ण कुरा के हो भने आन्दोलनले उठाएका मुद्दा संस्थागत भए कि भएनन् ? यदि भ्रष्टाचारविरुद्धको आवाज केवल चुनावी नारामा सीमित भयो भने आन्दोलनको आत्मा मर्छ । यदि पारदर्शिताको माग नयाँ सत्ताको प्रचार सामग्री मात्र बन्यो भने आन्दोलनको अपमान हुन्छ । यदि युवाको सहभागिता चुनावका बेला मतमा मात्र सीमित गरियो र निर्णय प्रक्रियामा उनीहरूको वास्तविक प्रतिनिधित्व भएन भने पुस्तान्तरण अधुरो हुन्छ । जेनजी पुस्ताले खोजेको लोकतन्त्र पाँच वर्षमा एकपटक मतदान गर्ने लोकतन्त्र मात्र होइन । उसले प्रश्न गर्ने, निगरानी गर्ने, असहमति राख्ने र राज्यसँग जवाफ माग्ने लोकतन्त्र खोजेको हो । त्यसैले नयाँ सत्ताको सबैभन्दा ठूलो परीक्षा विपक्षीलाई जित्नु होइन, आफूमाथिको आलोचनालाई स्वीकार्न सक्नु हो ।

आन्दोलनको अर्को परीक्षा

जेनजी आन्दोलनको मूल्याङ्कन गर्दा सडकमा ज्यान गुमाएका र घाइते नागरिकलाई बिर्सन मिल्दैन । आन्दोलनका क्रममा भएको बल प्रयोग, मानवीय क्षति, हिंसा, सार्वजनिक तथा निजी सम्पत्तिको नाश र त्यसको जिम्मेवारीबारे निष्पक्ष छानबिन र जवाफदेहिता आवश्यक छ । आन्दोलनपछि अनुसन्धान र पीडितका माग सम्बोधन गर्ने प्रयास भए पनि न्यायको प्रश्नलाई केवल आयोग, प्रतिवेदन वा क्षतिपूर्तिमा सीमित गर्न मिल्दैन । जसको रगतबाट राजनीतिक परिवर्तनको बाटो खुल्यो, उनीहरूको परिवारले राज्यबाट न्यायको अनुभूति गर्न सकेन भने त्यो परिवर्तन अधुरो हुनेछ ।

अब जेनजीको भूमिका के?

सबैभन्दा ठूलो भ्रम के हुन सक्छ भने जेनजी आन्दोलन सफल भयो, अब युवाहरूको भूमिका सकियो भन्ने । वास्तवमा अब उनीहरूको भूमिका सुरु भएको छ । आन्दोलन गर्नु लोकतन्त्रको एउटा चरण हो । त्यसलाई संस्थागत गर्नु अर्को ठूलो चरण हो । सडकको ऊर्जा नीति निर्माणमा बदल्न सकिएन भने आन्दोलनको उपलब्धि क्षणिक हुन्छ । अब जेनजी पुस्ताले सरकारलाई समर्थन वा विरोध गर्नेभन्दा माथि उठेर नागरिक निगरानीको शक्तिशाली पुस्ता बन्न आवश्यक छ । सरकारले राम्रो काम गर्दा समर्थन र गलत गर्दा प्रश्न गर्ने अनि आफ्ना नाममा भएको गलतको समेत विरोध गर्ने र कुनै पनि राजनीतिक शक्तिलाई अन्धसमर्थन नगर्ने संस्कार विकास गर्नुपर्छ । किनकि हिजोको सत्ता ढलेको कारण केवल ओली वा शेरबहादुर देउवा थिएनन्, त्यो एउटा प्रवृत्तिको असफलता थियो । भोलि नयाँ सत्ता पनि त्यही प्रवृत्तिको पुनरावृत्ति भयो भने इतिहासले पात्रको नाम मात्र बदल्नेछ, कथा उही रहनेछ ।

वर्ष दिनपछिको ठम्याइ

जेनजी आन्दोलनले नेपालको राजनीति बदलिदिएको यर्थाथ हो ।  यसमा अब धेरै बहस आवश्यक छैन । तर राजनीतिक परिवर्तनलाई सामाजिक र संस्थागत परिवर्तनमा रूपान्तरण गर्न सकियो कि सकिएन, यसको फैसला गर्न अझै समय लाग्छ । एक वर्षको उपलब्धि सत्ता परिवर्तन मात्र हो की शाशकीय परिवर्तन पनि हो ? पुराना नेता हट्नु परिवर्तनको अन्तिम बिन्दु होइन । नयाँ नेतृत्वले पनि नयाँ शैलीमा सेवा गर्नु चाहिं वास्तविक परिवर्तन हो । किनकि सिंहदरबारको कुर्सी नयाँ हुन सक्छ, कुर्सीमा बस्ने अनुहार नयाँ हुन सक्छ, सरकारको नाम नयाँ हुन सक्छ, तर यदि शासन गर्ने प्रवृत्ति उही रह्यो भने इतिहासले प्रश्न गर्नेछ । त्यो भनेको ‘जेनजीले आखिर केका लागि विद्रोह गरेको थियो त ?’ र त्यस प्रश्नको जवाफ नयाँ पुस्ताले होइन, आजको सत्ताले दिनुपर्नेछ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ५ : ०९ बजे