काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो । ओमानका लागि जतिन्दर सिंहले २५ तथा जितेन रामानन्दीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए । रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६ रनमा चार विकेट गुमाएर संकटमा रहेका बेला दीपेन्द्र र बसिरले ९३ रनको साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ पुर्याएका थिए ।
नेपालका देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानका जय ओडेडराले ३ तथा हस्नैन शाहले ३ विकेट लिए । मुहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले १–१ विकेट लिए ।
सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि समेत छनोट भएको छ । अब नेपालले उपाधिका लागि यूएईसँग शनिबार फाइनल खेल्नेछ । फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ ।








प्रतिक्रिया