कुनै व्यवसायको वास्तविक शक्ति उसको भवन, गोदाम, सामान वा बैंक खातामा मात्र हुँदैन । त्यो शक्ति संकटका बेला कति दृढ भएर उभिन सक्छ भन्ने कुराले निर्धारण गर्छ । त्यसको एउटा ज्वलन्त उदाहरण बनेको छ– भाटभटेनी सुपर स्टोर । एक वर्षअघि भाटभटेनी सुपर स्टोरमाथि भएको आगजनी, तोडफोड र लुटपाटले एउटा व्यापारिक संस्थाका भौतिक संरचना मात्र ध्वस्त पारेको थिएन, चार दशक लामो उद्यमशील यात्रालाई उठ्नै नसक्ने गरी थला पार्ने दुस्प्रयास गरिएको थियो । तर आज त्यही भाटभटेनी फेरि उठेको छ— खरानी टक्टक्याउँदै, घाउँ पुछ्दै र पुरानै लय समात्ने प्रयत्न गर्दै । यो केवल एउटा सुपरमार्केट पुनर्निर्माणको कथा होइन । यो नेपाली उद्यमशीलताको धैर्य, निजी क्षेत्रको जोखिम बहन गर्ने क्षमता र संकटपछि पनि अर्थतन्त्रलाई चलायमान राख्न सकिन्छ भन्ने आत्मविश्वासको लोभलाग्दो कथा पनि हो ।
चार दशकअघि काठमाडौंको नक्सालमा एउटा सानो सटर भाडामा लिएर मीनबहादुर गुरुङले सुरु गरेको व्यवसायले त्यतिबेला कति ठूलो आकार लिनेछ भन्ने अनुमान कसैलाई थिएन, सायद स्वयं मीनबहादुरलाई पनि नहोला । सामान्य पसलभन्दा फरक ढंगले उपभोक्तालाई एउटै छानामुनि उपभोग्य वस्तु उपलब्ध गराउने उनको सोच क्रमशः विस्तार हुँदै गयो । एउटा सटरबाट सुरु भएको यात्रा आज दर्जनौं स्टोर, हजारौं कर्मचारी र लाखौं उपभोक्तासम्म पुगेको छ, एउटा साम्राज्य नै खडा भएको छ ।
नेपालमा आधुनिक ‘सुपरमार्केट कल्चर’को विकासलाई संस्थागत रूप दिने श्रेय पाएको भाटभटेनी आज केवल एउटा व्यापारिक ब्रान्ड होइन । यो नेपाली उपभोक्ता संस्कृतिको एउटा परिचित नाम र मुलुककै एउटा आर्थिक ‘ल्याण्डमार्क’ बनेको छ ।
एउटा सटरदेखि राष्ट्रिय ब्रान्डसम्म
व्यवसाय सुरु गर्नु सजिलो होला, तर त्यसलाई चार दशकसम्म निरन्तर विस्तार गर्नु अलौकिक र असाधारण चुनौती हो । लगानी चाहिन्छ, बजार बुझ्नुपर्छ, जोखिम लिनुपर्छ, कर्मचारी सम्हाल्नुपर्छ, उपभोक्ताको विश्वास जित्नुपर्छ र सबैभन्दा महत्वपूर्ण पक्ष भनेको हरेक कठिनाइपछि फेरि उठ्ने क्षमता राख्नुपर्छ । हो, यही क्षमता थियो– भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङको । गुरुङको साहसिक यात्रा उद्यमशील अभियानमा लागेका हरेक युवाका लागि प्रेरणापथ बनेको छ । त्यसैले मीनबहादुर गुरुङको साहसिक उद्यम यात्रा व्यावसायिक सफलताको कथा मात्रै होइन, राष्ट्रकै लागि गौरव हो । उनको यात्रालाई यही कोणबाट हेरिनुपर्छ ।
भाटभटेनीको विस्तारसँगै नेपालमा किनमेल गर्ने संस्कृतिमा पनि परिवर्तन आयो । पहिले सीमित पसलमा सीमित सामान खोज्ने उपभोक्ता क्रमशः व्यवस्थित, एउटै छानामुनि धेरै विकल्प उपलब्ध हुने आधुनिक बजारतर्फ आकर्षित भए । यसले नेपाली बजारमा प्रतिस्पर्धा बढायो, आपूर्ति प्रणालीलाई व्यवस्थित बनायो र उपभोक्तालाई मूल्य तथा गुणस्तर तुलना गर्ने अवसर पनि दियो । अर्थात् भाटभटेनीको प्रभाव उसको आफ्नै कारोबारको सीमाभन्दा बाहिर फैलाउन सफलता प्राप्त भयो ।
विध्वंशले भवन जलायो, जलेन भरोसा
गत वर्षको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भाटभटेनीका प्रमुख स्टोरहरूमा भएको आगजनी र लुटपाट कुनै पनि व्यावसायिक संस्थाका लागि अकल्पनीय परिघटना थियो । देशभर रहेका ठूला स्टोरमध्ये १२ वटा पूर्ण रूपमा ध्वस्त भए । नक्सालस्थित मुख्यालय, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानलगायतका स्टोरमा ठूलो क्षति भयो । अन्य कतिपय स्टोर तोडफोड र लुटपाटबाट प्रभावित भए ।
व्यवस्थापनका अनुसार प्रारम्भिक क्षति करिब ११ अर्ब रुपियाँ बराबर थियो । पुनर्निर्माणका क्रममा पुरानै संरचना जस्ताको तस्तै बनाउनेभन्दा अझ गुणस्तरीय र आधुनिक बनाउने निर्णय व्यवस्थापनले ग¥यो । त्यसले खर्चलाई थप २० देखि ३० प्रतिशतसम्म बढायो । समग्रमा पुनर्निर्माणमा करिब १४ अर्ब रुपियाँ खर्च भएको अनुमान छ । यस्तो अवस्थामा कुनै संस्थाले कर्मचारी कटौती गर्नु, केही स्टोर बन्द गर्नु वा विस्तारको योजना स्थगित गर्नु स्वाभाविक मानिन्थ्यो । तर भाटभटेनीले फरक बाटो रोज्यो । उसले कर्मचारीलाई छाडेन । र आफ्नो अभियानलाई विश्राम पनि दिएन ।
व्यवसायभन्दा ठूलो रोजगारी
भाटभटेनीको महत्वपूर्ण योगदान उसको वार्षिक कारोबार मात्र होइन, उसले सिर्जना गरेको रोजगारी मुख्य हो । प्रत्येक स्टोरमा औसत पाँच सय जनाको हाराहारीमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । गोदाम तथा अन्य संरचनासमेत जोड्दा देशभर बीसौं हजार मानिस प्रत्यक्ष रूपमा आबद्ध रहेको व्यवस्थापनको भनाइ छ । यी रोजगारीसँग जोडिएका परिवारको संख्या अझ ठूलो हुन्छ ।
त्यसैले कुनै एउटा स्टोर जलेर नष्ट हुँदा त्यसको क्षति भवन र सामानमा मात्र सीमित हुँदैन । त्यससँग जोडिएका सयौं परिवारको आम्दानी, आपूर्तिकर्ता, ढुवानी व्यवसाय, उत्पादक, किसान, साना उद्यमी र सेवा प्रदायकसम्म त्यसको प्रभाव पुग्छ । यही कारण भाटभटेनीको पुनर्निर्माणलाई निजी कम्पनीको पुनर्निर्माण मात्र भनेर बुझ्नु अर्थतन्त्रको एउटा महत्वपूर्ण पाटोलाई बेवास्ता गर्नु सरह हो ।
अझ उल्लेखनीय पक्ष भनेको भाटभटेनीले जस्तोसुकै कठिन अवस्थामा पनि आफूलाई सतिसालझैं उभ्यायो । विनासपछि पनि कर्मचारी कटौती नगर्नु, तलब नघटाउनु र दशैंमा बोनससमेत दिनु उल्लेखनीय पक्ष हो । यसले संकटमा संस्थागत सम्बन्ध र मानवीय पूँजीको महत्व दर्शाउँछ । भवन फेरि बनाउन सकिन्छ, मेसिन किन्न सकिन्छ, सामान पुनः भर्न सकिन्छ, तर दक्ष र प्रतिबद्ध जनशक्ति गुमेपछि संस्था पहिलेकै गतिमा फर्किन सजिलो हुँदैन । यही मन्त्रलाई मीनबहादुरले समाए ।
उपभोक्ताको विश्वास नै ठूलो पूँजी
भाटभटेनीको पुनरुत्थानमा व्यवस्थापन र कर्मचारीको भूमिका जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण पक्ष हो उपभोक्ताको विश्वास र भरोसा । देशभरका स्टोरमा दैनिक करिब १० करोड ६८ लाख रुपियाँ बराबरको कारोबार हुने गर्छ । वार्षिक कारोबार करिब ३९ अर्ब रुपैयाँ हाराहारी पुग्ने व्यवस्थापनको तथ्याङ्ककले भाटभटेनीको आर्थिक कारोबारको चित्र प्रष्ट्याउँछ । यति ठूलो कारोबार केवल भौतिक संरचनाले सम्भव हुँदैन । त्यसको पछाडि लाखौं उपभोक्ताको विश्वास र भरोसा मुख्य आधार हो भन्न सकिन्छ । आगजनीपछि भाटभटेनी फेरि खुल्नु र उपभोक्ता पुनः त्यहाँ पुग्नु आफैंमा एउटा सन्देश हो—ब्रान्डको वास्तविक मूल्य उसको भवनमा होइन, नागरिकको मन मनमा हुन्छ ।
खरानीबाट उठ्ने अर्थतन्त्र
भाटभटेनीले अहिले क्षतिग्रस्त स्टोरहरू पुनः सञ्चालनमा ल्याइरहेको छ । २७ मध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् र बाँकी पनि क्रमशः खुल्ने तयारीमा छन् । त्यसमाथि चितवनको टाँडी, पोखरा लेखनाथ, ललितपुरको सातदोबाटो र भैंसेपाटीलगायत नयाँ स्टोर निर्माणको चरणमा छन् । यसले एउटा महत्वपूर्ण मनोवैज्ञानिक सन्देश पनि दिएको छ , त्यो के भने संकटले लगानीको गति रोक्न सक्छ, तर उद्यमशीलताको इच्छा मार्न सक्दैन ।
नेपालजस्तो विकासोन्मुख अर्थतन्त्रका लागि यो पक्ष निकै महत्वपूर्ण मान्नुपर्छ । रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता बढिरहेका बेला स्वदेशमै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रका संस्थाहरूको संरक्षण र प्रोत्साहन राज्यको आर्थिक नीतिको महत्वपूर्ण हिस्सा हुनुपर्छ । निजी व्यवसाय सफल हुँदा त्यसको लाभ व्यवसायीले मात्र पाउँदैन । त्यसले रोजगारी सिर्जना गर्छ, कर तिर्छ, स्थानीय बजार चलाउँछ, उत्पादन र आपूर्तिको सञ्जाल विस्तार गर्छ र उपभोक्ताको क्रयशक्तिलाई बजारसँग जोड्छ । त्यसैले ठूला स्वदेशी उद्यमको सफलता समग्र अर्थतन्त्रको सफलता पनि हो ।
भाटभटेनी पुनरागमनको सन्देश
भाटभटेनीमाथि भएको विनाशलाई हामीले त्यतिकै विस्मृतिमा राख्नु हुँदैन । तर यसैमा अल्झिएर सधैं बिलौना गर्ने कुरा पनि भएन । व्यवस्थापनले विगतलाई कोट्याएर गुनासो गर्नेभन्दा पुनर्निर्माण र भविष्यतर्फ अघि बढ्ने बाटो रोजेको छ, त्यो आफैंमा सकारात्मक छ । यही मानसिकताले भाटभटेनीप्रतिको विश्वास र भरोशा उँचो बनाएको छ । उसको सबैभन्दा ठूलो शक्ति यही बन्न सक्छ ।
अब भाटभटेनीका लागि चुनौती पहिलेको संरचना बनाउनु मात्र होइन । अझ सुरक्षित, आधुनिक, प्रविधिमैत्री र संकटप्रतिरोधी व्यापारिक प्रणाली विकास गर्नु पनि हुनेछ । आपूर्ति श्रृङ्खला बलियो बनाउनु, डिजिटल कारोबार विस्तार गर्नु, स्वदेशी उत्पादनलाई थप प्राथमिकता दिनु र नयाँ पुस्ताका उपभोक्ताको बदलिँदो आवश्यकता बुझ्नु आगामी यात्राका महत्वपूर्ण आधार बन्न सक्छन् ।
चार दशकअघि एउटा सानो सटरबाट सुरु भएको यात्रा आज राष्ट्रिय पहिचान बनेको छ । त्यस यात्रामा सफलता मात्र छैन, जोखिम छ, असफलताको डर छ, संघर्ष छ र एक वर्षअघिको विनाशको गहिरो घाउ आलै छ । तर त्यसपछि पनि उठ्ने साहस छ । भाटभटेनीको कथा त्यसैले एउटा व्यापारीको सफलताको कथा मात्र होइन । यो ‘नेपालमा केही गर्न सकिँदैन’ भन्ने निराशावादी सोचलाई चुनौती दिने तिलस्मी कथा पनि हो ।
आगोले स्टोर जलाउन सक्छ । सामान खरानी बनाउन सक्छ । भवन ढाल्न सक्छ । तर चार दशकमा निर्माण भएको उद्यमशीलता, कर्मचारीको प्रतिबद्धता र उपभोक्ताको विश्वास जलाउन सक्दैन । त्यही विश्वासको जगमा भाटभटेनी फेरि उभिएको छ । र यसको पुनरागमनले एउटा सरल तर शक्तिशाली सन्देश दिएको छ । त्यो के भने व्यवसायको असली परीक्षा उसले कति कमायो भन्नेमा होइन, संकटपछि कति दृढतापूर्वक फेरि उठ्यो भन्नेमा हुन्छ ।








प्रतिक्रिया