Logo

Breaking News 1

सभामुख सापकोटा र अजर बैजानका सभामुख गफारोवाबीच भेटवार्ता



काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ ।

अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा सभामुख सापकोटाले असंलग्न आन्दोलनका आदर्शहरू महत्वपूर्ण भएको बताउँदै यसका आदर्श र एजेन्डाहरूप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गरे ।

सभामुख सापकोटाले अन्तर्राष्ट्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीको समाधान गर्न सकिने बताए। अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुख सहितको प्रतिनिधि मण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गरे ।

यसअघि स्पेनमा भएको अन्तर व्यवस्थापिका संघको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समूह बनाउन अजरबैजानको संसद तयार रहेको बताए।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : १६ बजे