काठमाडौं । नेपालबाट मनसुन बाहिरिएपछि पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षा र हिमपात हुन सक्नेछ । कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने विभागले जनाएको छ ।
दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । देशका बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
विभागका अनुसार राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बादल रहनेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । राति हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष १२ दिन ढिलो गरी बुधबार मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । मनसुन बाहिरिएपछि पनि पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।








प्रतिक्रिया