Logo

मुख्य समाचार

बदलिएको काँग्रेस, फेरिएको अनुहार : भरोसाको परीक्षा र आगामी चुनौती



ऐना खबर विश्लेषण
नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै पार्टीभित्र पुस्तान्तरणको बहसले मूर्त रूप लिएको छ । यो महाधिवेशन नेतृत्व चयन गर्ने नियमित राजनीतिक प्रक्रिया मात्र होइन, बदलिँदो जनचाहना, जेनजी आन्दोलनले उठाएका प्रश्न र परम्परागत राजनीतिक शक्तिप्रतिको घट्दो विश्वासबीच काँग्रेसले आफूलाई पुन:परिभाषित गर्ने अवसर पनि हो । नयाँ कार्यसमितिमा २०४६ सालको राजनीतिक परिवर्तनपछि सक्रिय राजनीतिमा उदाएका अनुहारहरूको उल्लेख्य उपस्थितिले पार्टीभित्र नेतृत्वको पुस्ता फेरिएको सन्देश दिएको छ । उपसभापतिमा निर्वाचित विनोद चौधरी र प्रतिस्पर्धामा पराजित डा. सुनिल शर्माको चर्चाले पनि यसपटकको महाधिवेशनलाई थप चासोको विषय बनाएको छ ।
तर महाधिवेशनमा नयाँ अनुहारको विजय हुँदैमा पुरानो राजनीतिक संस्कार स्वत: विस्थापित हुँदैन । नेतृत्वको उमेर फेरिनु र नेतृत्व गर्ने शैली फेरिनु दुई फरक कुरा हुन् । काँग्रेसका लागि अहिलेको मुख्य प्रश्न पनि यही हो—नयाँ कार्यसमितिले अनुहार मात्र बदल्छ कि पार्टीको सोच, संगठन, कार्यशैली र जनतासँगको सम्बन्धसमेत बदल्न सक्छ ?
क्रान्ति र लोकतन्त्रको विरासत
नेपाली काँग्रेसको इतिहास नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग अभिन्न रूपमा जोडिएको छ । २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापनाबाट सुरु भएको राजनीतिक यात्रा २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको एकीकरणपछि नेपाली काँग्रेसको नाममा अघि बढ्यो । राणा शासनविरुद्धको सङ्घर्ष, २००७ सालको क्रान्ति, २०१५ सालको पहिलो आमनिर्वाचन, बीपी कोइराला नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकार र २०४६ सालको जनआन्दोलनमा काँग्रेसको भूमिका अग्रणी रहेको छ । २०६२/६३ को जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणमा समेत काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।
काँग्रेसको शक्ति केवल निर्वाचनमा प्राप्त मत वा संसद्मा रहेको संख्यामा मापन गर्नु उचित हुँदैन । लोकतन्त्र, नागरिक स्वतन्त्रता, बहुलवाद र समाजवादप्रतिको प्रतिबद्धताले यसलाई राष्ट्रिय राजनीतिमा विशिष्ट पहिचान दिएको थियो । बीपी कोइरालाले लोकतन्त्रलाई राजनीतिक अधिकारमा मात्र सीमित नराखी आर्थिक समानता र सामाजिक न्यायसँग जोड्न खोजेका थिए । सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाजस्ता नेताले आ–आफ्नो समयमा पार्टीको नेतृत्व गरे । उनीहरूका विचार, कार्यशैली र राजनीतिक प्राथमिकता फरक भए पनि काँग्रेसको ऐतिहासिक विरासत लोकतान्त्रिक संघर्ष र प्रतिस्पर्धाबाट विकसित भएको हो ।
काँग्रेसका विभिन्न महाधिवेशन पार्टीभित्र नेतृत्व परिवर्तनका अवसर मात्र बनेनन्, वैचारिक दिशा र शक्ति सन्तुलनका निर्णायक मोड पनि बने । २००७ सालको क्रान्तिपछि प्रजातान्त्रिक अभ्यासको संस्थागत विकास, २०१२ सालको वीरगञ्ज महाधिवेशनमा प्रजातान्त्रिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सार्ने प्रयास, २०१४ सालको विशेष महाधिवेशन र त्यसपछिका राजनीतिक संघर्षले पार्टीको चरित्र निर्माण गरे । २०४८ सालको निर्वाचनपछि सत्ताको जिम्मेवारी, २०५३ सालतिरको आन्तरिक शक्ति संघर्ष, २०६२/६३ को परिवर्तनपछिको संविधान निर्माण र पछिल्ला महाधिवेशनहरूमा नेतृत्व चयनसँगै पार्टीको भावी दिशा निर्धारण गर्ने प्रश्न निरन्तर उठ्दै आए । छैटौँ महाधिवेशनमा सुवर्णशमशेरको नेतृत्व स्थापित हुनु र २०१४ सालको विशेष महाधिवेशनबाट बीपी कोइराला पुन: नेतृत्वमा आउनुले काँग्रेसको इतिहासमा नेतृत्व प्रतिस्पर्धाको महत्व दर्शाउँछ ।
तर पछिल्ला वर्षमा काँग्रेसको महाधिवेशन वैचारिक बहसभन्दा गुटगत शक्ति परीक्षणको माध्यम बन्ने प्रवृत्तिले पार्टीको मौलिकता कमजोर बनाएको छ । नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धा स्वाभाविक हो, तर प्रतिस्पर्धा सकिएपछि पनि गुट समाप्त नहुने र पार्टीको सामूहिक निर्णयभन्दा नेताको व्यक्तिगत स्वार्थ हावी हुने अवस्था लोकतान्त्रिक संस्कार होइन । अब भने नयाँ कार्यसमितिले त्यो पुरानो रोगको स्थायी उपचार गर्नै पर्छ ।
जेनजी सन्देश र बदलिएको चेत
जेनजी आन्दोलनले नेपाली राजनीतिलाई दिएको मुख्य सन्देश पुराना सबै नेता अयोग्य छन् भन्ने होइन । यसको सार राजनीति जनताप्रति जवाफदेही हुनुपर्छ, नेतृत्वले परिणाम दिनुपर्छ, भ्रष्टाचार र नातावाद स्वीकार्य हुँदैनन् तथा अवसरको वितरण न्यायपूर्ण हुनुपर्छ भन्ने हो । नयाँ पुस्ताले राजनीतिक दलसँग केवल आश्वासन होइन, आचरण र परिणाम मागिरहेको छ ।
यस सन्दर्भमा काँग्रेसले नेतृत्व परिवर्तनको आवश्यकतालाई स्वीकार गरेको देखिनु सकारात्मक पक्ष हो । यस विपरीत, नेकपा एमालेसहितका कम्युनिष्ट पृष्ठभूमिका दलले अंगिकार गरेको देखिएन । एमालेमा केप ीओली र नेकपामा पुष्पकमल दाहाल र माधवकुमार नेपालको रवैयाले अझै परिवर्तनको छनक दिएको छैन । यसले पुस्तान्तरण र नेतृत्वको जवाफदेहितासम्बन्धी प्रश्नलाई कति गम्भीरतापूर्वक आत्मसात् गर्छन् भन्ने विषय उनीहरूको आगामी व्यवहारबाट स्पष्ट हुनेछ । तथापि, कुनै दलले आन्दोलनको सन्देश स्वीकार गर्‍यो वा गरेन भन्ने मूल्याङ्कन नारामा नभई नेतृत्व चयन, आन्तरिक लोकतन्त्र र शासन सञ्चालनमा देखिने परिवर्तनका आधारमा गर्नुपर्छ ।
गगन थापाको नेतृत्वमा काँग्रेसले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने अवसर पाएको छ । तर जेनजीको विश्वास जित्न उमेर वा भाषण मात्र पर्याप्त हुँदैन । युवालाई पार्टीमा प्रवेश गराउनु, निर्णय प्रक्रियामा सहभागी गराउनु, रोजगारी र उद्यमका अवसर सिर्जना गर्ने आर्थिक नीति प्रस्तुत गर्नु तथा राज्यका संस्थालाई जवाफदेही बनाउने प्रतिबद्धता व्यवहारमा उतार्नु आवश्यक छ ।
विनोद चौधरीको जित र सुनिल शर्माको हार
महाधिवेशनमा विनोद चौधरी उपसभापतिमा निर्वाचित हुनु र डा. सुनिल शर्मा पराजित हुनु पनि चर्चाका विषय बनेका छन् । चौधरीको विजयलाई व्यावसायिक क्षेत्रको अनुभव, स्रोत परिचालन र आर्थिक विकाससम्बन्धी दृष्टिकोणलाई पार्टी नेतृत्वमा प्रतिनिधित्व गराउने अवसरका रूपमा लिन सकिन्छ । तर निजी क्षेत्रको अनुभव हुनु मात्रै आर्थिक नीति निर्माणमा सफलता प्राप्त गर्ने प्रत्याभूति होइन । व्यावसायिक हित र सार्वजनिक हितबीच स्पष्ट सन्तुलन कायम गर्न सक्नुपर्छ ।
त्यस्तै, सुनिल शर्माको पराजयलाई उनको राजनीतिक सम्भावनाको अन्त्यका रूपमा बुझ्नु गलत हुनेछ । महाधिवेशनको परिणामले कुनै व्यक्तिको क्षमता वा योगदानको अन्तिम फैसला गर्दैन । लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले जिम्मेवारी पाउँछ, हार्नेले पनि आफ्नो विचार र अनुभवबाट पार्टीलाई योगदान दिन सक्छ । काँग्रेसले प्रतिस्पर्धामा विजयी भएका र पराजित भएका दुवै पक्षको क्षमता उपयोग गर्न सकेन भने महाधिवेशनबाट प्राप्त ऊर्जा फेरि गुटगत खिचातानीमा खेर जानेछ ।
अन्य दलसँगको तुलना र काँग्रेसको विशिष्टता
नेकपा एमालेको संगठनात्मक संरचना, अनुशासन र नेतृत्व परिचालनको क्षमता लामो समयदेखि उसको राजनीतिक शक्तिका आधार रहँदै आएका छन् । तर संगठन बलियो हुनु र नेतृत्व परिवर्तन सहज हुनु एउटै कुरा होइन । नेतृत्वमा लामो समयसम्म एउटै पुस्ता वा व्यक्तिको प्रभाव कायम रहँदा नयाँ आकांक्षाको व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्छ । नेकपा माओवादी केन्द्र तथा त्यससँग सम्बन्धित राजनीतिक धारमा पनि नेतृत्वको निरन्तरता, संगठनको पुनर्गठन र बदलिँदो जनमतअनुसार आफूलाई रूपान्तरण गर्ने प्रश्न महत्वपूर्ण छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ राजनीतिक शक्तिले परम्परागत दलप्रतिको असन्तुष्टिलाई आफ्नो विस्तारको आधार बनाएका छन् । उनीहरूको उदयले मतदाताले नयाँ अनुहार, वैकल्पिक कार्यशैली र परिणाममुखी राजनीतिलाई महत्व दिन थालेको संकेत गर्छ । तर नयाँ हुनु मात्रै पर्याप्त हुँदैन, संस्थागत लोकतन्त्र, आन्तरिक पारदर्शिता र दीर्घकालीन नीतिगत स्पष्टता पनि उत्तिकै आवश्यक छन् ।
यसको तुलनामा काँग्रेससँग ऐतिहासिक विरासत, देशव्यापी संगठन, लोकतान्त्रिक आन्दोलनको अनुभव र विविध सामाजिक समूहसँग जोडिएको राजनीतिक आधार छ । तर यही विरासतलाई वर्तमानको उपलब्धि ठानेर बस्नु यसको कमजोरी बन्न सक्छ । इतिहासले सम्मान दिलाउँछ, भविष्यको नेतृत्व गर्ने अधिकार भने वर्तमानको कामले मात्र स्थापित गर्छ । काँग्रेसले आफ्नो ऐतिहासिक पूँजीलाई नयाँ पुस्ताको अपेक्षासँग जोड्न सके प्रतिस्पर्धी दलभन्दा फरक र विश्वसनीय लोकतान्त्रिक विकल्प बन्न सक्छ ।
परिणामबाट प्रमाणित गर्नुपर्ने बेला
गगन थापा नेतृत्वको नयाँ कार्यसमितिका अगाडि सबैभन्दा ठूलो चुनौती पार्टीभित्रको एकता र संस्थागत वैधतालाई बलियो बनाउनु हो । विशेष महाधिवेशनपछि स्थापित नेतृत्वसम्बन्धी विवाद र शेरबहादुर देउवा पक्षको असन्तुष्टिले पार्टीमा विभाजनको जोखिम अझै पूर्ण रूपमा हटिसकेको छैन । पन्ध्रौं महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि असहमत पक्षका राजनीतिक प्रश्न र कानूनी प्रक्रियासम्बन्धी विवादलाई संवाद, विधि र सम्मानजनक सहमतिबाट सम्बोधन गर्नुपर्ने आवश्यकता रहन्छ ।
दोस्रो चुनौती संगठनलाई निर्वाचनमुखी संरचनाबाट जनमुखी संस्थामा रूपान्तरण गर्नु हो । पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनलाई सक्रिय बनाउने, स्थानीय तहसम्म कार्यकर्ताको आवाज सुनिने व्यवस्था गर्ने, टिकट वितरणमा पारदर्शिता कायम गर्ने र आर्थिक स्रोतको परिचालनमा जवाफदेहिता स्थापित गर्ने काम प्राथमिकतामा पर्नुपर्छ ।
तेस्रो चुनौती भ्रष्टाचार, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र आर्थिक अवसरका प्रश्नमा स्पष्ट नीति र कार्यान्वयनयोग्य कार्यक्रम प्रस्तुत गर्नु हो । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने पुरानो प्रवृत्ति त्याग्न सके मात्र काँग्रेसको विश्वसनीयता अझै चुलिने छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, गगन थापाले आफ्नो नेतृत्वलाई व्यक्तिकेन्द्रित होइन, संस्थाकेन्द्रित बनाउनुपर्छ । विगत नेतृत्वका कमजोरी सच्याउनु आवश्यक छ, तर पुराना सबै अनुभव र योगदानलाई अस्वीकार गरेर नयाँ राजनीति निर्माण हुन सक्दैन । अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोड्नु नै वास्तविक पुस्तान्तरण हो । आलोचकलाई सत्रु ठान्ने, असहमतिलाई निषेध गर्ने र निकटस्थलाई मात्र अवसर दिने प्रवृत्ति दोहोरियो भने परिवर्तनको नारा पनि पुरानै राजनीतिक संस्कारको आवरण मात्र बन्नेछ ।
नयाँ कार्यसमिलाई शुभकामना
नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना सबैतिरबाट आएको छ । यो कार्यसमिति पार्टीको इतिहासमा अर्को नाम थप्ने अवसरमा सीमित नहोस्, बरु लोकतन्त्रप्रतिको प्रतिबद्धता, राजनीतिक इमानदारी र जनताप्रतिको उत्तरदायित्व पुन:स्थापित गर्ने मोड बनोस् । काँग्रेसले आफ्नो गौरवशाली इतिहासको सम्मान भाषणबाट होइन, वर्तमानका समस्याको समाधानमार्फत गर्नुपर्छ । जनताले खोजेको काँग्रेस पुरानो काँग्रेसको प्रतिलिपि पनि होइन, नयाँ अनुहारको प्रदर्शन मात्र पनि होइन । यो लोकतान्त्रिक मूल्यमा दृढ, आचरणमा स्वच्छ, नीतिमा स्पष्ट र परिणाम दिन सक्ने काँग्रेस हो । नयाँ नेतृत्वले यही अपेक्षालाई आफ्नो राजनीतिक प्रतिज्ञा बनाउन सके नेपाली काँग्रेसप्रतिको भरोसा पुन: उँचाइमा पुग्न सक्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ३ : ५८ बजे