Logo

निर्वाचन विशेष

जङ्गल पसेर आएकाहरुको अझै चेतनामा परिवर्तन आएको छैन : अध्यक्ष पदका उम्मेद्धार चन्द



रोल्पा । जिल्लाको परिवर्तन गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार विश्वकुमार चन्दले जङ्गल पसेर आएकाहरुको अझै चेतनामा परिवर्तन नआएको बताएका छन् । संयुक्त तीन दलीय गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवार बनेका नेपाली कांग्रेस नेता चन्दले घरदैलो तथा चुनावी अभियानको क्रममा आइतबार परिवर्तन गाउँपालिका वडा नं. ३ को कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘केही चेतना आएको छ कि भन्ने मलाई लागेको थियो तर आज आएर बुझ्दा हिंसा र कुटपिटको भावनामा केही फरक देखिएन ,’ अध्यक्षका उम्मेद्धार चन्दले भने ।

१७ बैशाखमा परिवर्तन गाउँपालिका ४ को कुङरी भन्ने ठाउँमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा संयुक्त तीन दलीय गठबन्धन परिवर्तन गाउँपालिका निर्वाचन परिचालन संयोजक हरिप्रसाद वलीलाई कुटपिट भएको बताँउदै अझै मानिसमा परिवर्तनको चेतना नभएको समेत चन्दले बताए ।

त्यस्तै बैशाख २३ गते परिवर्तन गाउँपालिका ६ को चुनावी सभामा आएका पह्ल बुढामगरलाई किन त्यो कार्यक्रम गइस भनेर कुटपिट गर्नु अर्को दुःखद पक्ष भएको बताउदै उनले भने ‘जङ्गल पसेर आएकाहरुको अझै चेतनामा परिवर्तन आएको छैन, दम्ब र घमण्ड मात्र भएको देखियो।’

अझै माओवादी केन्द्रका केही व्यक्तिहरुमा आफ्नो गलती कमजोरी स्वीकार नगर्ने मनाश्य रहेको चन्दको भनाइ छ ।

चन्द परिवर्तन गाउँपालिकाको मुहार फेर् शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सडक, पर्यटन, सञ्चार, कृषि तथा पशु लगाएतका एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएको चन्दका चुनाव प्रचारप्रसार संयोजक सुर्य प्रकाश बुढामगरले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ११ : २७ बजे