Logo

निर्वाचन विशेष

लमजुङमा तीन जनाको उम्मेदवारी बदर



लमजुङ । लमजुङमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये तीन जनाको उम्मेदवारी बदर भएको छ । ३० वैशाखमा हुने निर्वाचनमा लमजुङको दोर्दी गाउँपालिकाको दुई जना र क्व्होलासोंथार गाउँपालिकाका एक जनाको उमेदवारी बदर भएको हो ।

मनोनयन बदर हुनेमा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट क्होलासोँथार गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मिनप्रसाद गुरुङको उम्मेदवारी बदर भएको हो । एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष पदमा दुबै जना पुरुषको उम्मेदवारी परेपछि सम्बन्धित पार्टीसँग छलफल गरी उपाध्यक्षका उम्मेदारको मनोनयन बदर गरिएको हो ।

दोर्दी गाउँपालिकामा पनि मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाटै अध्यक्षमा उम्मेदवारी दिएका रामबहादुर गुरूङको मनोनयन बदर भएको छ । सोही कानुनी प्रावधानका कारण उम्मेदवारी खारेजी हुने भएपछि सम्बन्धित पार्टीसँग समन्वय गरी अध्यक्ष पदका उम्मेदवार गुरुङको मनोनयन बदर गरिएको दोर्दी गाउँपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद ज्ञवालीले बताए ।

दोर्दी गाउँपालिका–५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी उम्मेदवार कुमारी सार्कीको पनि उम्मेदवारी बदर भएको छ । कुमारीको हस्ताक्षरमा प्राविधिक समस्या आएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी बदर गरिएको हो । निर्वाचन आयोगले तय गरिएका कार्यविधि अनुसार उम्मेदवारी नपरेको उनीहरूको मनोनयन बदर भएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : २८ बजे