Logo

निर्वाचन विशेष

उम्मेदवारका एजेण्डाः सेफ्टीक ट्यांकी निःशुल्क सफा गराउनेदेखि पाँच रुपैयाँमै खानासम्म



बुटवल । सिद्धार्थनगर नगरपालिकाका विभिन्‍न दलका उम्मेदवारले मतदाता आकर्षित गर्न निःशुल्क रुपमा सेफ्टीक ट्यांकी सफा गराउनेदेखि कर छुटसम्मका एजेण्डा ल्याएका छन् ।

आगामी ३० वैशाखमा हुने निर्वाचनमा उम्मेदवारबीच एजेण्डा प्रस्तुत गर्ने होडबाजी नै चलेको छ । आकर्षक एजेण्डा बनाउने र मतदातालाई आफूतिर आकर्षित गर्ने गरी उम्मेदवारले मतदाता भेटघाटलाई पनि तीव्र पारेका छन् ।

सिद्धार्थनगर नगरपालिकामा दलगत र स्वतन्त्र गरी १५ जनाले उम्मेदवार छन् । अधिकांशका घोषणापत्रमा करछुट गराउनेदेखि शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ, खानेपानीका ठूल्ठूला वाचा गरिएका छन् । तर, ती काम कसरी पूरा गर्ने भन्‍न‍े विषयमा कसैसँग कुनै ठोस योजना भने देखिएको छैन ।

एमालेबाट मेयरमा उम्मेदवारी दिएका डा रामप्रसाद बस्यालले प्रत्येक नगरवासीको घर(घरमा घोषणापत्र पु(याएको बताउँदै पार्टी र आफ्नो एजेण्डा सोही घोषणापत्रबाट नागरिकले जान्‍न सक्ने बताए । उनले अहिले पनि सिद्धार्थनगर नगरपालिकाले प्रयाप्त विकास गरेको बताउदै आफू विजयी भए त्यसलाई निरन्तरता दिने बताए ।

नेकपा (एकीकृत समाजवादी) का बाट मेयरका उम्मेदवार थमन पुन (कुलेन्द्र) ले पहिलो प्राथमिकतामा स्वास्थ्य राखेको बताए । उनले स्वास्थ्यको साथै महिनाको ५ हजार लिटर खानेपानी निःशुल्क गर्ने बताए । युवा श्रम गठन गरी नगरमा रहेका युवाको अवस्थाबारे जानकारी लिने उनले बताए । खेलकुद र खेलाडीलाई सम्बोधन गरिने बताउदै उनले आफ्नो पारिश्रमिक एकल महिला र अति विपन्‍नको सेवामा खर्च गर्ने पनि बताए ।

राप्रपाकाबाट मेयर उम्मेदवार सागर प्रताप राणले विजयी भए नगरमा उपलब्ध विज्ञको सुझाव अनुसारको सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । नगरको विकासमा एडिबीको महत्वपूर्ण योगदान रहेपनि यसले नगरको समग्र समस्या समाधान नगरेको उनको तर्क छ । गलत डिजाइनका कारण नगर अहिले डुबानमा रहेकोले आफूले पानीको उचित निकासमा पहल गर्ने उनले बताए ।

राणाले अहिले नगरपालिकाले चर्को कर असुलीरहेको आरोप लगाउदै आफू मेयरमा विजयी भए करमा ५० प्रतिशतसम्म कटौती गर्ने योजना सुनाए । यति मात्र नभई महिला उद्यमीको लागी थप १२ प्रतिशत कटौती गर्ने आफ्नो एजेण्डा रहेको राणाको भनाइ छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार ईश्तियाक अहमद खाँले नगरवासीको सपना साकार पार्न उम्मदेवारी दिएको बताए । उनले भैरहवालाई ग्रीन–क्लिन सहर बनाउने अभियानमा लागेको भन्दै यसको लागि भैरहवामा बोटानिकल गार्डेन बनाउने योजना रहेको बताए । खानले भैरहवाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्दै नगरलाई प्लाष्टिकमुक्त बनाउने योजना रहेको जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मोहम्मद वसिर मुसलमानले नगरको विकासमा युवाले कहिल्यै अवसर नपाएको बताए । उनले भैरहवाका १५ प्रतिशत गरिब जनतालाई पाँच रुपैयामै उपलब्ध हुने गरी खाना उपलब्ध गराइने योजना सुनाए ।

जसपाका तर्फबाट प्रमुख पदका उम्मेदवार मात्रिका प्रसाद यादवले सबै वडामा सामानान्तर विकास आफ्नो मूल एजेण्डा रहेको बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हसनरजाले आफूसँंग नगर विकासको लागी गाँस, बास, कपास, स्वास्थ्य शिक्षा लगायत ४० बुँदे घोषणापत्र रहेको बताए । आफू नगरको मेयरमा विजयी भए नगरका सेफ्टीक ट्यांकी निःशुल्क रुपमा सफा गराउने योजना रहेको उनले सुनाए । यसका साथै १३ वटै वडामा मेयर आवास योजना लागू, ५० प्रतिशतसम्म कर छुट गर्ने उनको योजना छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ३६ बजे