Logo

निर्वाचन विशेष

गोरखाको पालुङटारमा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन



गोरखा । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ ।

पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि पछिल्लोपटक केन्द्रीय समितिले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ ।

‘स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमान्दार रहेको छु’, विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो पटक पनि उम्मेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति धन्यवाद प्रकट पनि गर्दछु ।’ उनले सरकारमा सहभागी पाँच दलका बीचमा भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलहरु बीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँटको निर्णय भएअनुसार उम्मेदवारी फिर्ता गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा नेता कँडेलले पार्टी केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी कार्यकर्तालाई पार्टीको निर्णय कार्यान्वयन गर्न पनि अपिल गरेका छन् । पालुङटारमा मेयर जसपालाई र उपमेयर कांग्रेसले लिने दुई पार्टीबीच सहमति भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : ०० बजे