Logo

निर्वाचन विशेष

रोल्पामा ११७ जनाले लिए उम्मेदवारी फिर्ता



रोल्पा । रोल्पामा १७ जना पालिका प्रमुखका उम्मेदवारसहित ११७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उमेदवारी फिर्ता लिनेहरूमा एक नगर प्रमुखका उम्मेदवार, १६ जना गाउँपालिका अध्यक्षका उम्मेदवार र १३ जना गाउँपालिका उपाध्यक्ष उम्मेदवारसहित ११७ जना रहेका छन् ।

गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सबैभन्दा बढी नाम फिर्ता लिनेमा थवाङ गाउँपालिकाका उम्मेदवार छन्। थवाङ गाउँपालिकाबाट पाँचजना अध्यक्ष र दुई जना उपाध्यक्षका उम्मेदवारले उमेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेवार रमेश रोकामगर, उपाध्यक्षका उम्मेदवार धनुमारी रोका रहेका छन् । यसैगरि सोही गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका नकस घर्तीमगर, उपाध्यक्षका उमेदवार शान्ति घर्तीमगरले पनि नाम फिर्ता लिएका छन । यही गाउँपालिकामा स्वतन्त्र उमेदवारी दिएका ४ मध्ये ३ जनाले नाम फिर्ता लिएका छन् । स्वतन्त्रवाट नाम फिर्ता लिने अध्यक्षका उम्मेदवारमध्ये अमित घर्तीमगर, अजय घर्तीमगर र महेश बुढामगर रहेका छन् ।

यसैगरी परिवर्तन गाउँपालिकाबाट पाँच जनाले उमेदवारी फिर्ता लिएका छन् । जसमा नेकपा एमालेबाट अध्यक्षका उमेदवार गंगाराम बुढामगर, नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार तीलबहादुर पुन र उपाध्यक्षका उमेदवार अरुणा थापा, नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सपना घर्तीमगर, स्वतन्त्र उमेदवार लक्ष्मी डाँगी रहेका छन् ।

त्रिवेणी गाउँपालिकाबाट नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार आशाकुमारी पुन केसी र स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हस्तबहादुर घर्तीमगर रहेका छन् ।

माडी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार शेरवहादुर बुढामगर र उपाध्यक्षका उम्मेदवार गौमाया पुनमगरले पनि उमेदवारी फिर्ता लिएका छन् ।

रुन्टीगढी गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्षका उम्मेदवार कमारी बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।

रोल्पा नगरपालिकाबाट नगर प्रमुखका स्वतन्त्र उम्मेदवार मोलङ घर्तीमगर, स्वतन्त्रबाटै उपप्रमुखमा उम्मेदवार निर्मला रोका र रीता गिरी आजादले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

लुग्री गाउँपालिकाबाट स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार कल्पना थापा र उपाध्यक्षको उम्मेदवार टुकमाली कुमारी बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

गंगादेव गाउँपालिकाबाट स्वतन्त्रको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका नरसिंह राना, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार धनकुमारी वलीले पनि उमेदवारी फिर्ता लिएका छन् ।

सोही गाउँपालिकावाट राप्रपाबाट उपाध्यक्षका उम्मेदवार राजेश डिसीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी उम्मेदवारी फिर्ता लिनेमा सुनछहरी गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार हिकलाल पुनमगर रहेका छन् ।

सुनिलस्मृती गाउँपालिकामा राप्रपाबाट अध्यक्षका उम्मेदवार सुरज घर्तीमगर, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार शुक्रराज थापा रहेका छन् । सोही गाउँपालिकावाट स्वतन्त्रवाट उपाध्यक्षका उम्मेदवार दीपेश विष्ट र कुमारी थापाले पनि उमेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिने अन्य पदमा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसहित ९७ जना रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ११ : ०३ बजे