Logo

Breaking News 1

लोडसेडिङ हुँदैन: कुलमान घिसिङ



काठमाडौ‌‍‌‍‍‍। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् ।

‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’

भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए ।

अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो समस्या जेठबाट स्वतः अन्त्य हुने कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार जेठमा तामाकोशीसहितका हाइड्रोपावरबाट विद्युत उत्पादन हुने हुँदा विद्युत प्रवाहमा समस्या हुँदैन ।

असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्र्यात गर्न सकिने भन्दै उनले अहिले तत्काल देखिएको समस्यामात्र रहेको बताए । यस्तो समस्या सधैं नदेखिने भन्दै उनले लोडसेडिङ नहुने दोहोर्याए ।

त्यसैगरि, नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने भएको छ ।
भारतमा विजुली महंगो भएको छ । सोही अनुरुप नेपालमा पनि बिद्युत महसुन दर बढेको हो । २० भारुमा विजुली किन्दा नेपालले तिर्नुपर्ने रकम प्रतियुनिट ३८ रुपैयाँसम्म पर्न जाने प्राधिकरणले जनाएको छ ।

नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको हो ।

प्राधिकरणलाई दैनिक २० देखि २२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिएको छ । यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने अबस्थामा पुगेको छ ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘अरु देशहरुले लोडसेडिङ गरिरहेका छन् तर, हामी गर्दैनौं । हामी अरुभन्दा राम्रो अवस्थामा छौं । घाटाको अवस्थामा सरकारले पनि हेर्छ होला । हामीले अनुरोध गरेका छौं । उद्योगी साथीहरुलाई पनि योगदानका लागि अनुरोध गरेका छौं ।’ आयातीत बिजुली महंगो हुँदा प्राधिकरणलाई कठिनाई भएको सबैले बुझ्नुपर्ने घिसिङले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  २ : २४ बजे