रौतहट । रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ ।
अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले प्राकृतिक रूपमा कभर गर्ने एम्नियोटिक थैली (गर्भभित्र बच्चा बस्ने पानीको झिल्ली) नजन्मिँदै नजुटिकन, त्यसैभित्र पूर्ण रूपमा ढाकिएको अवस्थामा शिशुलाई जन्म दिएकी छन् । चिकित्सा क्षेत्रमा यस प्रकारको जन्मलाई ‘एन काउल बर्थ’ भनिन्छ ।
अस्पतालका प्रमुख डा.सुवास चौधरीका अनुसार यो घटना चिकित्सा विज्ञानमा निकै विरलै देख्न पाइन्छ । उनका अनुसार सामान्यतया संसारभरका करिब ८० हजार जन्ममध्ये एक पटक मात्र यस्तो विरल संयोग हुने चिकित्सा तथ्याङ्कहरूले देखाउँछ ।
सामान्यतया, महिलाको प्रसव पीडासुरु भएपछि वा बच्चा जन्मिने प्रक्रिया अगाडि बढ्दै जाँदा पाठेघरभित्र रहेको पानीको थैली आफैं फुट्छ, जसलाई लोकबोलीमा ‘पानी बग्नुु वा ‘पानी फुट्न’ भनिन्छ । थैली फुटेपछि मात्र बच्चा बाहिर आउँछ ।
‘एन काउल’ जन्ममा भने सो झिल्ली वा थैली कत्ति पनि नफुटिकन बच्चा पानीसहितको सोही थैलीभित्रै सुरक्षित रहेर बाहिर निस्कन्छ । जन्मिँदा बच्चा दुरुस्तै एउटा पानी भरिएको सानो बेलुन वा अण्डाकार पारदर्शी थैलीभित्र देखिन्छ, जहाँ उसले हातगोडा चलाइरहेको समेत प्रत्यक्ष देख्न सकिन्छ । जन्मिइसकेपछि चिकित्सकहरूले निकै सावधानीपूर्वक उक्त झिल्लीलाई च्यातेर बच्चालाई बाहिर निकाल्छन् र श्वासप्रश्वास प्रक्रिया सुरु गराउँछन् ।
नेपाली तथा विश्व समाजमा परापूर्व कालदेखि नै झिल्लीसहित जन्मिएका बच्चालाई दैवी शक्तिको प्रतीक वा असाधारण भाग्यशाली मान्ने प्रचलन छ । यस्ता बच्चाहरूले जीवनमा ठूलो सफलता प्राप्त गर्ने र समाजमा लोकविश्वास रहिआएको छ ।
चन्द्रपुर अस्पतालका प्रमुख डा. सुवास चौधरीले यस घटनाबारे प्रकाश पार्दै भने, ‘यो घटना हाम्रो अस्पताल र रौतहट क्षेत्रकै लागि एक ऐतिहासिक र सुखद क्षण हो । चिकित्सा विज्ञानमा एन काउल बर्थ अत्यन्तै दुर्लभ र चुनौतीपूर्ण मानिन्छ । प्रसवको क्रममा झिल्ली फुट्न नदिनु र शिशुलाई सकुशल थैलीसहित बाहिर निकाल्नु निकै संवेदनशील कार्य हो ।’
डा. चौधरीका अनुसार हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य र स्वस्थ रहेको छ । अस्पतालको कुशल प्रसूति टोली र आधुनिक उपकरणको सहयोगले यो जटिल प्रसवलाई सुरक्षित रूपमा सम्पन्न गर्न सकिएको उनले बताए ।
यो दुर्लभ र अद्भुत दृश्य देखेपछि अस्पतालका स्वास्थ्यकर्मी, सेवाग्राही र शिशुका परिवारजनमा निकै उत्साह र खुसीयाली छाएको छ ।
रौतहट जस्तो क्षेत्रमा रहेको स्थानीय अस्पतालले यस्ता विरल र संवेदनशील घटनालाई सफलतापूर्वक व्यवस्थापन गरेर आफ्नो स्वास्थ्य सेवाको गुणस्तर र विश्वसनीयता पुनः प्रमाणित गरेको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।








प्रतिक्रिया