Logo

कर्पोरेट

सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता



काठमाडौं — १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ ऋण लगानी व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ।

आयोजनाको प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेन्ट प्रालि र बैंकहरूको कन्सोर्टियमबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। कन्सोर्टियमको नेतृत्व ग्लोबल आइएमई बैंकले गरेको छ भने सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सहभागी छन्।

करिब २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कन्सोर्टियमले १९ अर्ब रुपैयाँ लगानी गर्नेछ। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने आयोजनामा कुल लागतको ७५ प्रतिशत रकम बैंकहरूको ऋण लगानीबाट र बाँकी २५ प्रतिशत संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइने जनाइएको छ।

सम्झौतापछि आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई देशको विद्युत उत्पादन क्षमता वृद्धि तथा विद्युत निर्यात प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

आयोजना निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ११ : ४३ बजे