काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा पार्टीले सञ्चालन गरिरहेको ‘हामी तयार छौँ’ अभियानको प्रभावकारिता, नेताहरूको जिम्मेवारी तथा आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने भएको छ ।
दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने बैठकमा सभापति गगनकुमार थापासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा अभियान सञ्चालनका विषयमा केन्द्रीय नेताहरूले आफ्नो धारणा र सुझाव राख्नेछन् । अभियानमा नेताहरूले निर्वाह गर्ने भूमिका, जिम्मेवारी र कार्यक्षेत्रबारे समेत छलफल हुनेछ ।
कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी र संगठन सुदृढीकरणका लागि मंसिर १ गतेदेखि देशव्यापी रूपमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गरिरहेको छ । १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार मंसिर महिनाभर सञ्चालन हुने अभियानलाई वडा तहसम्म विस्तार गरिएको छ ।
अभियानमार्फत वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित करिब तीन लाख नेता–कार्यकर्ता परिचालन गर्ने कांग्रेसको लक्ष्य छ । यसका लागि केन्द्रीय नेताहरूलाई जिल्ला तथा स्थानीय तहमा खटाउने र पार्टीका तल्ला तहका संगठनलाई सक्रिय बनाउने तयारी गरिएको छ ।
अभियान स्थानीय तह निर्वाचनको तयारीमा मात्र सीमित नरहने कांग्रेसले जनाएको छ । पार्टीको आन्तरिक सुदृढीकरण, संगठनात्मक रूपान्तरण, नीतिगत निर्णयको प्रचारप्रसार तथा प्रमुख प्रतिपक्षी दलका रूपमा पार्टीको भूमिका प्रभावकारी बनाउनु पनि अभियानको उद्देश्य रहेको छ ।
१५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम तथा दस्तावेजलाई वडा तहसम्म पुर्याउने अभियानको अर्को लक्ष्य छ । यस क्रममा पार्टीका आर्थिक, शिक्षा, स्वास्थ्य, विकास तथा रूपान्तरणसम्बन्धी नीतिबारे नागरिकलाई जानकारी गराइने कांग्रेसले जनाएको छ ।
अभियानका क्रममा नेता तथा कार्यकर्ता टोल र घरघरमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् । पार्टीबाट टाढिएका मतदातासँग सम्बन्ध पुनःस्थापित गर्ने, नागरिकका गुनासा तथा सुझाव संकलन गर्ने र स्थानीय तहमा संगठनको अवस्था बुझ्ने कांग्रेसको तयारी छ ।
त्यस्तै, आगामी निर्वाचनका लागि उम्मेदवार छनोट, संगठन परिचालन र जनतासँगको सम्बन्ध विस्तारमा सहयोग पुग्ने गरी स्थानीय तहको राजनीतिक अवस्था तथा नागरिकका अपेक्षाबारे जानकारी संकलन गरिनेछ ।
सभापति थापासहित कांग्रेसको केन्द्रीय नेतृत्व पछिल्लो समय मधेस तथा तराई क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता र स्थानीय तहका प्रतिनिधिसँग भेटघाट तथा छलफलमा सक्रिय थियो । आजको बैठकले अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रीय नेताहरूको भूमिका र जिम्मेवारी स्पष्ट गर्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया