Logo

प्रवास

एनआरएनए आइसिसी मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ निर्विरोध



काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा रमेश श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन् ।

लामो समयदेखि युएईसहित मध्यपूर्व क्षेत्रमा व्यावसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन् ।

उनी जि सिडी ग्रुपका अध्यक्ष हुन । साधारण सदस्यबाट सुरु भएको उनको सङ्गठनात्मक यात्रा एनसीसी युएईको अध्यक्ष हुँदै मध्यपूर्व डिआरसी हुँदै अन्तर्राष्ट्रिय तहसम्म पुगेको छ, जसले उनलाई व्यवहारिक र जिम्मेवार नेतृत्वको रूपमा स्थापित गरेको छ ।

निर्वाचनपछि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हक हितलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे । उनले हाल मध्यपूर्व द्वन्दबाट समस्यामा परेका कामदारको तत्काल उद्धार, राहत तथा सहयोगका लागि आपत्कालीन राहत कोष स्थापना गर्ने घोषणा गरेका छन् । उक्त कोषमार्फत दुर्घटना, बिरामी, कानुनी जटिलता वा अन्य सङ्कटमा परेका नेपालीलाई छिटो र प्रभावकारी सहायता उपलब्ध गराइनेछ ।

त्यसैगरी, मध्यपूर्व क्षेत्रमा देखिएको संस्थागत विभाजन अन्त्य गर्दै हाल रहेका दुई वटा एनसीसी संरचनालाई एकीकृत गरी सुदृढ र प्रभावकारी संगठन निर्माण गर्ने उनको प्रमुख योजना रहेको छ ।

एनआरएनएको १२औँ एकता महाधिवेशनमार्फत निर्विरोध चयन भएका श्रेष्ठको नेतृत्वलाई मध्यपूर्वमा श्रमिक केन्द्रित नीति, सङ्गठनात्मक एकता र प्रभावकारी कार्यान्वयनको नयाँ अध्यायको रूपमा हेरिएको छ । श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालमा नसकिएको कार्य यो कार्यकालमा गर्ने बताए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : १८ बजे