काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको व्यापार घाटा करिब ११ खर्ब रुपैयाँ पुगेको छ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म कुल वैदेशिक व्यापार १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको हो।
विभागका अनुसार आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ भने एक खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले वृद्धि भएको छ।
छिमेकी मुलुकहरूसँगको व्यापारमा उच्च घाटा देखिएको छ। भारतसँग मात्रै पाँच खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा भएको छ। भारतबाट सात खर्ब २४ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँको मात्र निर्यात भएको छ।
त्यस्तै, चीनसँग दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा भएको छ। चीनबाट दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको आयात हुँदा ९८ करोड ३३ लाख रुपैयाँको मात्रै निर्यात भएको विभागले जनाएको छ। अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा पर्छन्।
यद्यपि केही मुलुकसँग नेपालले व्यापार नाफा पनि गरेको छ। रोमानिया, नर्वे, आइसल्यान्ड, नाइजर, इराक र केन्यासँग नाफा भएको देखिएको छ। रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्यान्डसँग दुई करोड ५७ लाख रुपैयाँ नाफा भएको छ।
आयाततर्फ पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो रहेको छ। आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाख रुपैयाँको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाख रुपैयाँको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ।
यसैगरी, ८१ अर्ब १८ करोड ६४ लाख रुपैयाँको कच्चा भटमास तेल, २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाख रुपैयाँको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँको सुन र १८ अर्ब ४४ करोड ७८ लाख रुपैयाँको चाँदी आयात भएको छ।
निर्याततर्फ भटमास तेल अग्रस्थानमा रहेको छ। आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ। त्यस्तै, नौ अर्ब ४९ करोड ६१ लाख रुपैयाँको अलैँची, छ अर्ब ५३ करोड ९६ लाख रुपैयाँको कार्पेट, छ अर्ब २० करोड २३ लाख रुपैयाँको सूर्यमुखी तेल र चार अर्ब ३२ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ।
८ चैत्र २०८२, आइतबार
230
Shares








प्रतिक्रिया