काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको जनाएको छ ।
नयाँ मूल्य सोमबार बिहानदेखि लागू भएको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १७१ रुपैयाँ र तेस्रो वर्गका लागि १७२ रुपैयाँ तोकिएको छ ।
यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५१ रुपैयाँ र तेस्रो वर्गका लागि १५२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने सुर्खेत र दाङलाई दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरिएको छ ।
निगमले विषम परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । जारी विज्ञप्तिमा आम उपभोक्ता तथा सरोकारवालामा पर्ने प्रभावप्रति निगम सचेत र संवेदनशील रहेको उल्लेख गरिएको छ ।
२ चैत्र २०८२, सोमबार
184
Shares









प्रतिक्रिया