Logo

अर्थ

चितवनमा माघ २५ गतेदेखि अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने



काठमाडौं। डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चितवन प्रदर्शनी केन्द्रमा २०८२ माघ २५ गतेदेखि २९ गतेसम्म अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने लागेको जानकारी गराइएको हो ।

उत्पादन र उद्यमशीलता प्रवद्र्धनः डेरी उत्पादन, प्रक्रिया र वितरणमा नवीनतम प्रविधि र अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जाल, तालिम, अनुदान र उद्यमशीलताको अवसर प्रदान गर्नु, गुणस्तर र जागरूकता वृद्धिः उपभोक्तालाई डेरी उत्पादनको महत्व, फाइदा र गुणस्तरबारे जानकारी प्रदान गर्दै नयाँ उत्पादन लन्च, ब्रान्डिङ र सहकारीहरूलाई औद्योगिक उत्पादनमा प्रेरित गर्नु, डेरी उद्योगको उत्पादकत्व र कार्यदक्षता वृद्धि गरी दिगो र आर्थिक रूपमा फाइदाजनक बनाउन राज्यका पहलहरूमा छलफल र नयाँ कार्यदिशा सुझाव गर्नु, डेरी जन्य उत्पादनहरुको निर्यातका लागि बातावरण तयार गर्ने, डेरी जन्य उत्पादनको निर्यातको सम्भावना भएका देशका व्यवसायीक प्रतिनिधिहरुलाई प्रदर्शक तथा अवलोकनकर्ताको रुपमा आमन्त्रण गरी बिट् बि मिटिङका माध्यमबाट निर्यात सम्भावनाका विषयमा छलफल गरी डेरी जन्य उत्पादनको निर्यातको वातावरण तयार गर्ने प्रदर्शनीको उद्देश्य रहेको छ ।

प्रदर्शनी अन्तर्गत दोस्रो दिन मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, तेस्रो दिन दुध उत्पादनको वर्तमान अवस्था बजारको समस्या र सामाधानका उपायहरु सम्बन्धि कार्यपत्र प्रस्तुति सहित अन्तरक्रियात्मक कार्यक्रम ( १) पशुपालनमा देखिने रोग र उपचार विधि, (२) दुधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, (३) दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौति तथा नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा), तेथो दिन दुग्ध क्षेत्रसँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगिता ÷ उन्नत जातको गाई प्रर्दशनी ÷ सातै प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा एक–एक बटा उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम र प्रदर्शनी अवधिभरी डेरी फुड फेस्टिभल आयोजना गरिदैछ ।

निःशुल्क प्रवेश रहेको अन्तर्राष्ट्रिय डेरी प्रदर्शनीमा वास्तविक डेरीजन्य उत्पादन उद्योगीहरू, उद्योगी बन्न इच्छुक व्यक्तिहरू, औद्योगिक नीति निर्माताहरू, नीति नियम कार्यान्वयन तहका सरकारी कर्मचारीहरू, डेरीजन्य औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने तथा खोज अनुसन्धानकर्ता, नेपालका डेरी उद्योगका सञ्चालक, लगानीकर्ता तथा उच्च व्यवस्थापकहरू, डेरी उद्यमीकाव्यवसायिक परामर्शदाताहरू, तीनै तहका सरकारका प्रतिनिधिहरू (संघीय, प्रादेशिक, स्थानीय), प्रतिष्ठित लघु, घरेलु तथा साना उद्योगीहरू, कृषि विश्वविद्यालय तथा फूड टेक इन्जिनियरिङ्ग कलेजका प्रमुख एवम् प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, उद्यमीका छाता संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, दुग्धजन्य उत्पादनमा प्रत्यक्ष संलग्न व्यवसायिक किसानहरू, स्वदेशी उत्पादनका लागि प्रोत्साहन गर्ने व्यक्ति तथा समूहहरू, दुग्ध उत्पादक किसानहरू, दुग्ध उद्योग र कारखाना सञ्चालकहरू, दुग्ध उत्पादन सम्बन्धी मेशिनरी र उपकरण निर्माताहरू, खाद्य उद्योगका व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी र दुग्ध उद्योगका विज्ञहरू, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरू गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

प्रदर्शनीमा अन्तर्राष्ट्रिय डेरी स्टलहरु, डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी, डेरी उद्योगकालागी उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरू, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरू, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरू, स्टार्टअप प्याभिलियन लगायतका स्टलहरुको सहभागिता रहनेछन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : २२ बजे