काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् ।
गुरुङले भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि तपाईं ‘जेनजीलाई कारबाही’ भन्ने आवाज मात्र सुन्ने गृहमन्त्री बन्नुभयो । यो राष्ट्रप्रतिको अपमान हो ।’
उनले गृहमन्त्रीलाई शहीदको बलिदान, नेपाली जनताको आशा र आँसु सम्झन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘काम गर्न नसके पद छोड्ने वाचा गर्नुभएको थियो । अब त्यो समय आएको छ । किनभने दुई महिना भइसक्दा पनि न भ्रष्टाचारविरुद्ध कारबाही भएको छ, न हत्यारा विरुद्ध कारवाही गरिएको छ ।’
गुरुङले आफू र आफ्ना सहकर्मीहरू राष्ट्रहितका लागि लडिरहेको बताउँदै लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचार, चरित्र हत्या र अपमान सहनु प¥यो । म सोच्थें—कामले बोल्छ । तर अब तपाईंबाट आशा हराइसकेको छ ।’
यसैगरी उनले जेनजीका माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् ।
उनले चेतावनी दिंदै भनेका छन्, ‘यदी नेपाली जनता र जेनजीका मागहरू सम्बोधन भएनन् भने यसपालीको चुनाव हुन दिइने छैन । अझै पनि गृहमन्त्रीको पदमा टाँसेर बस्नुभयो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ ।’










प्रतिक्रिया