Logo

Breaking News 1

तिहारमा उज्यालो मात्र होइन, सहकार्यको चमक



बाजुरा । दिपावलीको अवसरमा बाजुराको बडिमालिका नगरपालिका झिलिमिली बत्ती र देउसी–भैलोको सुरिलो स्वरले गुञ्जिएको छ । घर–घरमा दिप बालिएको छ, फुलका माला र रंगोलीले सजिएको छ, र सिंगो नगर नै उत्सवको उज्यालोमा नुहाइरहेको छ ।

‎तिहारको अवसरमा यहाँका विभिन्न उमेर समूहका नागरिकले परम्परागत तथा आधुनिक दुवै शैलीमा देउसी–भैलो खेल्दै खुसी साटेका छन् । कतै परम्परागत देउसीका गीत–नृत्य गुन्जिएका छन् भने कतै आधुनिक डीजे संगीतमा युवाहरू नाचगानमा रमाएका छन् ।

‎नगरका वडा नं ३ की वडा सदस्य तथा नगर कार्यपालिका सदस्य निर्मला बिक भन्छिन् ‘देउसी–भैलो हाम्रो संस्कृतिको सौन्दर्य हो । यसले परिवार र समाजलाई अझै नजिक ल्याउँछ । यसपालि पनि हाम्रा वडाका युवाहरूले देउसी खेल्दै उठाएको पैसाबाट बनभोज आयोजना गरी रमाइलो गर्दै छन् ।’

‎त्यस्तै, महिला अधिकार मञ्चकी अध्यक्ष बिनिता रावलले देउसीको नयाँ दृष्टिकोण प्रस्तुत गरिन् । उनका अनुसार देउसी–भैलोबाट उठेको रकम केवल रमाइलोका लागि नभई सामाजिक प्रयोजनका लागि पनि प्रयोग हुँदै आएको छ । उनले भनिन् ‘पहिला देउसी खेलेर उठाएको पैसाले हामीले डीजे मेसिन खरिद गरेका थियौं । अहिले त्यो डीजे वडाभरिका विवाह तथा सार्वजनिक कार्यक्रममा भाडामा दिँदा आम्दानी समेत भइरहेको छ । यस वर्ष पनि देउसीबाट उठेको रकम सामूहिक सामग्री खरिद र सामाजिक काममा लगाइनेछ ।’

‎देउसी भैलोमा सहभागी स्थानीय महिला नन्दा बिकले भने आफ्नो रमाइलो अनुभव बाँडिन् । उनका अनुसार, ‘कामकाज भए पनि तिहारको बेला ओसिँदेखि तीन दिनसम्म मिठा–मिठा परिकार बनाउने, फुलका माला बुन्ने र देउसी खेल्दै रमाउने हाम्रो परम्परा हो ।’

‎यस वर्ष बडिमालिका नगरपालिकाभर झिलिमिली बत्ती र उत्सवको उल्लास छ । देउसीभैलोमा सहभागी युवाहरूले स्थानीयतालाई जीवन्त बनाएका छन् भने अभिभावकहरू छोराछोरीसँगै देउसीमा सहभागी भएर संस्कृतिको संरक्षणमा हात मिलाइरहेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ८ : ४० बजे