रौतहट । रौतहटको गङ्गापिपरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डुबानमा परेपछि अस्थायी रुपमा सेवा सुरु गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा जमेको पानी निकास नहुँदा अस्थायी क्याम्पमार्फत स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो ।
असोज १८ गतेको अविरल वर्षाले दुर्गा भगवती गाउँपालिकाको अधिकाश भु–भाग अहिले पनि डुबानमा छ । लामो समयदेखि स्वास्थ्य केन्द्र डुबानमा रहेका कारण अस्थायी रुपमा भएपनि सेवा सुरु गरिएको स्वास्थ्य शाखा संयोजक दिनेश महतोले जानकारी दिए ।
उनका अनुसार युनिसेफले उपल्वध गराएको त्रिपाल टागिएको छ । पालिका स्तरबाट नै पानीको निकास नहुँदासम्म अस्थायी क्याम्पबाट सेवा प्रदान गर्ने निर्णय गरिएको उनले जानकारी दिए । अहिले क्याम्पमार्फत गर्भवती महिलाको नियमित जाँच, सुत्केरी सेवा, अल्ट्रासाउन्ड, ओपिडी र परिवार नियोजनका सबै सेवाहरू दैनिक रूपमा प्रदान भइरहेको स्वास्थ्य संयोजक महतोले बताए ।
वर्षापछीको डुबान र जमेको पानीको निकास नहुँदा बिरामीको जोखिम उतिकै हुने भएकाले पनि अस्थायी रुपमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष शम्भु सिंहले बताए । अस्थायी क्याम्प दुर्गा भगवती गाउँपालिकाको सहकार्य र युनिसेफको प्राविधिक सहयोग रहेको उनले उल्लेख गरे ।
उनका अनुसार पालिकामा रहेका केहीको घर र विधालय पनि डुबानमा छ भने धान सहितको अन्न र फलफूल बालीमा क्षति पुगेको छ । दुर्गा भगवती गाउँपालिका नजिकमा बागमती नदी पर्दछ । यस नदीले बर्सेनि क्षति पुर्याउदै आएको छ ।
प्रतिक्रिया